जीवनको समस्त गुण, ऐश्वर्य, समृद्धि तथा वैभवको आधारशिलाको चरित्र नैतिक मूल्य हो । वैदिक मन्त्रमा हाम्रा ऋषिले यसकारण भनेका छन् कि–असतोमा सद् गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमय ।

अर्थात हे ईश्वर मलाई असत्यबाट सत्य तर्फ लैजानु होस्, अन्धकारबाट मलाई प्रकाश तर्फ लैजानुहोस्, असत्य र अन्धकारको सम्बन्ध मानिसलाई अनैतिकता अर्थात ‘असत्य’को बाटोबाट आउँछ ।

नैतिक मूल्यका कारण चरित्रवान व्यक्तिको निर्माण गर्न सकिन्छ । तर यसको अभावमा व्यक्तिको कुकृत्यले यो धर्तीलाई नर्क(खराब) बनाउन सक्छ ।

नैतिक मूल्य मानिसको आधारस्तम्भ हो । जसले मानवतालाई जीवित राख्छ । जसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।

जीवनमा सुख, समृद्धि, ऐश्वर्य, धन, सम्पत्ति, यश, नाम आनन्द प्राप्तिमा नैतिकताको निकै ठूलो योगदान हुन्छ । नैतिक गुणबाट विभूषित व्यक्तिको चरणमा सफलताले चुम्छ । तर आजको समयमा हाम्रो संस्कार तथा परम्परा अर्थात नैतिक मूल्यको पतन भइरहेको छ ।

संयुक्त परिवारको विघटन, एकल परिवार, पाश्चात्य संस्कार र संस्कृतिको प्रभावमा बालबालिका हुर्किइरहेका छन् ।

बालबालिकाले सबैभन्दा पहिला नैतिकताको पाठ आफ्ना घरमा परिवारजनका साथ सिक्छन् । आमा–बुवाको भूमिका त किसानको जस्तो हुन्छ । जसरी किसानले बीउको सही हेरचाह गरेर त्यसलाई फलाउन फूलाउनका लागि तयार गर्छ त्यस्तै आमा बुवाले पनि आफ्ना सन्तानको लागि यस्तै माहोल दिन जरुरी छ । आफ्नो सन्तान राम्रो मानिस(संस्कारी) बनेर सफताको सिँढी चढोस् भन्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

यस्तोमा यदी तपाई बालबालिकालाई संस्कार दिन चाहनुहुन्छ भने उनीहरुलाई नैतिक संस्कार दिन जरुरी छ । त्यसका लागि तपाईंले केही यस्ता कार्य गर्न जरुरी छ।

– बालबालिकालाई नैतिक विकासलाई प्रभावित गर्ने एक प्रमुख कारक हो परिवार । परिवारमा नै रहेर, शिक्षा–दीक्षा लिएर बालबालिकाले नैतिक आचरण सिक्ने कार्य गर्छ । एउटा कुरा तपाईले सधै याद राख्न जरुरी छ । बालबालिका आफ्ना आमा बुवा तथा परिवारका सदस्यको व्यवहार एवं आचरणको अनुकरण गर्छन् । जस्तो खालको व्यवहार तपाईले गर्नुहुन्छ बालबालिकाले त्यस्तै प्रकारको व्यवहार गर्छन् । त्यसकारण यो कुराको सधैं ख्याल हुन जरुरी छ कि तपाईले गर्ने व्यवहार सधैं राम्रो हुन सकोस् ।

– नैतिक विकासमा रीति रिवाज, प्रथा, परम्परा एवं कानूनको अति महत्वपूर्ण स्थान हुन्छ । तर जब सन्तान साना(कम उमेर) का हुन्छन् उनीहरुलाई सामाजिक परम्पराका अनुसार नैतिक आचरणको जानकारी हुँदैन । यस्तोमा यदी बालबालिकालाई खेलको माध्यमबाट नैतिक मूल्यको शिक्षा दिन सकियो भने राम्रो हुन्छ । जब बालबालिकाले खेल्ने समयमा आफ्नो साथी समूहका बालबालिकाको कुरा सुन्दैन भने त्यसमाथि उनीहरुलाई गाली गर्ने नगर्नुहोस् बरु माया प्रेमसहित सम्झाउने प्रयास गर्नुहोस् ।

–बालबालिकालाई नैतिकताको पाठ पढाउँनका लागि पुरस्कार एवं दण्डको निकै ठूलो भूमिका रहेको हुन्छ । पुरस्कार उनीहरुलाई प्रत्सान गर्छ भने दण्डले उनीहरुमा दमनको प्रवृत्ति विकास हुन्छ । जब बालबालिकाले राम्रो कार्य गर्छन् पुरस्कृत जरुर गर्नुस् । यस्तो गर्नाले भविष्यमा पनि उसले राम्रो कार्यगर्ने छ । यसको ठिक विपरित जब उसले नराम्रो कार्य गर्दा उसलाई दण्ड दिने पनि गर्नुहोस् । जसले गर्दा उसमा नराम्रो कामको फलको बारेमा याद रहोस् ।

–नैतिक मूल्यको विकासमा मनोरञ्जनको पनि निकै ठूलो भूमिका हुन्छ । यस कारण आफ्ना बालबालिकाका लागि स्वस्थय मनोरञ्जनको पनि सुविधा दिनुहोस् । जस्तो टिभी, सिनेमा, पार्टीमा जानु, राम्रा पुस्तकहरु पढ्नु, चुट्किलाहरु पढ्नु आदी । बालसुलभ मनमा यी चिजहरुको तत्काल प्रभाव पर्छ । यसकारण यो कुरालाई ध्यान दिन जरुरी छ कि बालबालिकालाई मारपिट, अनादर, कामूकता युक्त फिल्म वा पुस्तकहरु नदिनुहोस् । उनीहरुलाई यस्ता पुस्तक र फिल्महरु देखाउनुहोस् जसले नैतिक मूल्य मान्यता सिकाओस् ।

–बालबालिकाको साथी–समूहको पनि उनीहरुको नैतिक विकासमा प्रभाव पर्छ । बालबालिका आफ्ना आमा बुवा अथवा परिवारका सदस्यसँगबाट भन्दा धेरै उसले आफ्नो साथीभाइ वा समूहबाट सिकिरहेको हुन्छ ।यदी बालबालिकाको साथी झुठो बोल्छ, चोरी गर्छ भन्ने आफ्नो सन्तानले पनि त्यस्तै सिक्छ । त्यसैले बालबालिकाको संगतलाई पनि नजरअन्दाज गर्नु हुँदैन । सानु उमेर छ भनेर त्यस्ता कुराहरुलाई वेवास्ता गर्दा पछि समस्या आउँछ । त्यसैले ख्याल गर्न जरुरी छ ।

–बालबालिकामा मानवीय चेतनाको विकास गर्नुहोस् । उसलाई परोपकारी, दयालु, सहनशीलता, दानी, ज्ञानी, त्यागी, क्षमाशील, कर्तव्यनिष्ठ, सहिष्णु तथा उदार बन्नका लागि पठा पढाउनुहोस्, यही गुण उसलाई पद, प्रतिष्ठा तथा लोकप्रियता दिलाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर