झापा- गौरीगञ्जका बाढीपीडितको घरमा बलुवा भरिएको छ। गाउँमा बिजुली पुगेको छैन। कम्मरकम्मर कनकाई नदी हुँदा उत्तरी बस्तीमा आउन सकेका छैनन्। यति मात्र हैन बाढीले सडक बगाउँदा हिँड्डुल गर्न पनि मुस्किल छ। सतासीधाम-चौरी बस्ती सडक बगाउँदा गौरीगञ्ज-१ होकलबारी बस्तीको अर्कोस्तीसँग सम्पर्क विच्छेद भएको छ।
टापुजस्तै वरिपरि नदीले घेरिएर बसेका स्थानीयलाई सडक नहुँदा निकै समस्या भएको छ। ‘घरमा भएको सबै बाढीले कामै नलाग्ने बनायो। खोला नघट्दा कति दिन त भोकै बस्यौँ,’ बाढीपीडित सागर सुनुवार भन्छन्, ‘अब त बजारबाट बाँकी ल्याएर भए पनि खानुपर्छ। तर, बाढीले सबै बाटो भत्काएको छ।
कसरी बजारसम्म पुग्ने भन्ने समस्या छ।’ हुलकलबारीसम्म पुग्ने झन्डै पाँच सय मिटर सडक बाढीले बगाएको छ। ‘बल्ल-बल्ल बनेको सडक थियो। त्यो पनि भत्कियो,’ बाढीपीडित तलुक हस्दा भन्छन्, ‘अब बनाउँछन् कि बनाउँदैनन्। बाटो बनेन भने त हामीलाई धेरै समस्या हुन्छ।’
दक्षिणी सीमावर्ती क्षेत्र राज्यको नजरभन्दा बाहिर छ। विकासका काम कमै हुन्छ। भएका विकास पनि बाढीले बगाएर लैजान्छ। प्रत्येक वर्ष बाढीको चपेटामा पर्दै आएको छ, दक्षिणी क्षेत्र। रेडक्रस सोसाइटी झापाका अनुसार दक्षिणी क्षेत्रमा अधिकांश भूभाग बाढीको जोखिममा छ। तैपनि राज्यले नदी तठबन्धनमा ध्यान नदिँदा समस्या भएको बाढीपीडित हस्दा बताउँछन्।
‘समयमै नदीमा तठबन्धन गरिदिए त खोला आफ्नो ठाउँमा हिँड्ने थियो नि हामीलाई दुःख त दिने थिएन,’ उनी भन्छन्, ‘पहिला त सानो खोल्सो थियो। अहिले त नदी नै बग्दैछ। हामी गाउँले मिलेर बाँसको पुल बनाएका थियौँ। त्यो पनि बगाएर लग्यो। अहिले त जोखिम मोलेर कम्मरकम्मर खोला तर्दैछौँ।’
साना सडक मात्र हैन बहुप्रतीक्षित हुलाकी राजमार्गमा समेत क्षति पुगेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए। हुलाकी सडकअन्तर्गत गौरीगञ्ज-१ मा बाढीले कल्भर्टमा क्षति पुर्याएको उनले बताए। ‘साना बाटो त धेरै ध्वस्त बनायो। हुलाकी राजमार्गमा पनि क्षति पुर्याएको छ,’ उनले भने, ‘बेमौसमी नसोचेको बाढीले गौरीगञ्ज क्षेत्रमा ठूलो क्षति पुर्यायो।’
लामो समयको प्रतीक्षापछि बन्दै गरेको हुलाकी राजमार्गमा पनि क्षति पुगेपछि स्थानीय भने चिन्तित बनेका छन्। ‘बल्लबल्ल बनेको थियो। त्यो पनि बाढीले क्षति पुर्यायो,’ गौरीगञ्ज-१ का स्थानीय ईश्वर माझी भन्छन्, ‘हुलाकी राजमार्ग भनेको सुनेको बच्चैदेखि हो। अहिलेसम्म बनेको छैन। बल्ल बन्छ कि भन्ने आस थियो। फेरि बाढीले क्षति पुर्यायो। आसआसमै निरास बनायो।’ -न्युज कारखाना



