काठमाडौं – भूमध्य सागरको कारमेलमा ९०० वर्ष पुरानो तरबार भेटिएको छ। तरबार एक मिटर लामो रहेको इजरायली अधिकारीहरूले बताएका छन्। इजरायली पुरातात्त्विक प्राधिकरणका अनुसार गोताखोरले फेला पारेको उक्त तरबार मध्ययुगीन योद्धाले बनाएको अनुमान छ। उत्तरी इजरायलका स्लोमी क्याटजनले समुद्रमा डुबुल्की मारिरहेका बेला उक्त तरबार भेटेपछि सरकारी विशेषज्ञहरूलाई सुम्पिदिएका थिए।

इजरायका पुरातत्त्वविद् निर डिस्टिलफिल्डले भने, ‘यो सुन्दर तरबार कुनै वीर योद्धाको जस्तै देखिन्छ। यस्तो दुर्लभ वस्तु फेला पर्नु अनौठो हो। यसले हामीलाई नौ सय वर्षअघिको सेना र योद्धाबारे स्मरण गराउँछ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संग्रहालयमा राख्नुअघि उक्त तरबारलाई सफा गरेर कुन समयको हो भनेर फेरि अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्। उक्त स्थानमा तरबारसहित माटाका भाँडा पनि भेटिएका छन्।