
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेलाई जिल्ला समन्वय समिति (जिसस) गठनका लागि एक्लै बहुमत पुगेको छ । एमालेले जित्ने अर्जुनधाराको मतगणना बाँकी रहँदै एमालेले जिसस गठनका लागि आवश्यक ३० मध्ये १७ मत हासिल गरिसकेको छ ।
एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले भने, ‘जिल्ला समन्वय समिति गठनका लागि हामीले सुविधाजनक बहुमत हासिल गरेका छौँ । पहिलो पार्टीका रुपमा नेकपा (एमाले) लाई जनताले झापाको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् ।’
८ नगर र ७ गाउँपालिका रहेको झापामा एमालेले ६ वटा नगरपालिका र एक गाउँपालिकामा जित हात पारेको छ । एमाले भद्रपुर, कन्काई, अर्जुनधारा, शिवसताक्षी, दमक, विर्तामोड नगरपालिका र कमल गाउँपालिकामा विजयी भएको छ । प्रमुख जित्न नसकेका मेचीनगर र गौरादह नगरपालिकामा उपप्रमुख र बुद्धशान्ति, झापा र हल्दीबारीमा उपाध्यक्ष एमालेले जितेको छ ।
कांग्रेस मेचीनगर र गौरादह नगरपालिकासँगै बाह्रदशी, झापा र बुद्धशान्ति गाउँपालिकामा जितेको छ भने राप्रपाले हल्दीबारी, गौरीगंज र कचनकवल गाउँपालिकामा जितेको छ ।
एमालेका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा मेयर, उप–मेयर दुबैमा एमाले विजयी भयो । त्यहाँ मेयरमा जीवनकुमार श्रेष्ठ र उप–मेयरमा चन्द्रमाया श्रेष्ठ विजयी भइन् भने कन्काइ नगरपालिकामा मेयरमा राजेन्द्रकुमार पोख्रेल र उप–मेयरमा मञ्जु प्रसाईं, शिवसताक्षीमा मेयरमा चन्द्रकुमार शेर्मा र उप–मेयरमा भोजकुमारी नेपाल, दमक नगरपालिकामा मेयरमा रोम ओली र उप–मेयरमा गिताकुमारी पौडेल, कमल गाउँपालिकामा अध्यक्षमा मेनका काफ्ले र उपाध्यक्षमा बेनुप्रसाद सिवाकोटी, विर्तामोड नगरपालिकामा धु्रवकुमार सिवाकोटी र पवित्रादेवी महतारा विजयी भएका छन् ।
राप्रपाले जितेको हल्दीवारी गाउँपालिकामा डम्बरबहादुर गिरी, कांग्रेस विजयी भएको बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेल र कांग्रेसले नै जितेको झापा गाउँपालिकामा कुन्दादेवी बुढाथोकी विजयी एमोका तर्फबाट उपाध्यक्षमा विजयी भएका छन् । यसैगरी, कांग्रेसले जितेको गौरादह र मेचीनगर नगरपालिकामा पनि एमालेकै क्रमशः गीता भेटवाल र मिनाकुमारी पोख्रेल उपमेयरमा विजयी भएका छन् ।
अध्यक्ष र सचिव पराजित
यसपटक एमालेले झापामा १५ मध्ये १० तह सजिलै जित्ने अनुमान गरिएको थियो । मेचीनगर र गौरादह जस्ता एमालेका गढका रुपमा चिनिने ठाउँमा एमालेले जित हासिल गर्न नसकेपछि १० तह जित्न नसके पनि एमाले सधैँझैँ झापामा ठूलो पार्टी बनेको छ ।
बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा लडेका जिल्ला अध्यक्ष चिन्तन पाठक र गौरादह नगरपालिकामा पनि सचिव मदन अधिकारी पराजित भए । तर, ती दुबै ठाउँमा एमालेले उपाध्यक्षसहित बहुमत सिटमा विजय हासिल गरेको छ । यसबाट ती ठाउँमा पनि एमाले कमजोर नभएको देखाउँछ ।
संंविधानका के–छ व्यवस्था ?
नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ ।
एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ ।
जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणको कामको अनुगमन तथा संघ र प्रदेशअन्तर्गतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ ।



