कोभिड–१९ प्रभावित अतिविपन्न पाँच लाख परिवारलाई सरकारले १० हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने भएको छ ।
बिहीबार अर्थ मन्त्रालयले सूचना जारी गरी कोभिड प्रभावित अतिविपन्न पाँच लाख परिवारलाई एकपटकका लागि १० हजार रुपैयाँका दरले अनुदान रकम वितरण गर्न लागिएको जनाएको हो ।
‘कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि–२०७८’ अन्तर्गत सो रकम प्रदान गर्न लागिएको हो । कोभिड महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिइने मन्त्रालयको सूचनामा उल्लेख छ ।
मन्त्रालयको अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको परिवारको एक सदस्यले आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।



