विराटनगर बजारमा दशैंदेखि फोहार उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडक किनारामा फोहोर फाल्ने गरेका छन् ।
फोहोर नउठ्दा शहरभर दुर्गन्ध फैलिन थालेको छ । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ ।
वेस्ट म्यानेजमेन्टले दैनिक घर, पसल तथा अस्पतालको फोहोर संकलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र वेबारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहेकोमा दशैंयता काम गर्न सकेको छ ।
फोहोर नउठाएपछि स्थानीय बासिन्दा महानगरपालिकासँग आक्रोशित हुन थालेका छन् ।
फोहोरबाट मोहर बनेका उदाहरण धेरै छन् । तर विराटनगर महानगरपालिकालाई भने फाहोर मैला व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको छ ।
महानगरले हालसम्म पनि ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्न नसक्दा फोहोर नदी किनारमा थुपार्दै आएको छ । ल्यान्डफिल्ड साइडमा कुहिने र नकुहिने फोहोर मात्रै होइन अस्पतालमा मरेका बच्चा समेत त्यहीँ फाल्ने गरेको स्थानिय बासिन्दाको आरोप छ ।
गन्ध र झिँगाका कारण घरमा बस्न समस्या भइरहेको स्थानीय शंकर कामत दास बताउँछन् । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको थियो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद –३ मा स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने छ, भन्ने उल्लेख छ ।
स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रूपमा बिसर्जन गर्नका लागि वातावरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल ९स्यानिटरी ल्यान्डफिल्ड साइट० तोक्न सक्ने व्यवस्था ऐनमा छ ।
विराटनगरमा करीब ६० हजार घरधुरीरहेका छन्, जसमध्ये १० हजार घरपरिवारले वेस्ट म्यानेजमेन्टबाट सरसफाइसम्बन्धी सेवा लिइरहेका छन् ।
महानगरपालिकाले वेस्ट म्यानेजमेन्टलाई मासिक रूपमा ११ लाख ४० हजार रूपैयाँ दिने गरेको छ । एकजना सेवाग्राहीबाट ३ सय देखी ३ हजारसम्म प्रालिले मासिक पैसा लिने गरेको छ ।
सेवाग्राहीबाट सेवा शुल्कबापत मासिक २७ देखि २९ लाख रुपैयाँको आम्दानी गर्छ । सम्झौता अनुरूप दैनिक फोहोर संकलन गर्न विराटनगरमा २५ वटा ट्याक्टर र २ सय २२ जना कर्मचारीहरू खट्ने गरेका छन्, जसमा महानगरका ३ वटा ट्रयाक्टर भाडामा परियोजनालाई दिइएको छ ।
मासिक प्रति ट्र्याकटर ७ हजार भाडा प्रयोग गरेबापत परियोजनाले महानगरलाई बुझाउने गरेको छ । परियोजनाका २२ वटा ट्याकटर फोहोर उठाएर ल्डान्डफिल्ड साइडसम्म लैजाने गरिएको छ ।
महानगरले १९ वडा मध्ये १७ वटा वडाको मात्रै फोहोर संकलन गर्ने गरेको छ । महानगरका ३२ परियोजनाका १ सय ९० जना मजदुर खटिएका छन् । यता परियोजनाका प्रमुख देवीप्रसाद आचार्यले भने महानगरपालिकाले पैसा ढिलो दिएका कारण फोहोर उठाउन समस्या भएको बताएका छन् । उनले अहिले फोहोर उठाउन थालिएको समेत दाबी गरेका छन् ।
यता महानगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेन । मेयर भीम पराजुलीसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू बाहिर रहेको बताए ।
प्रवक्ता उद्धव अर्यालले आफू बिरामी रहेको भन्दै कुनै प्रतिक्रिया दिएनन् भने महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले आफू मिटिङमा रहेको र यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
सूचना अधिकारी समेत रहेकी वातावरण शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले पनि आफूलाई जानकारी नरहेको बताइन् ।



