मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको मृत्यु भएको छ। बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।

बाणगंगा नगरपालिका घर भएका खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका- १ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४ः४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताए। प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोटमात्र लागेको थियो। खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुर्‍याइएको थियो।