अनौठा कुरा

नासाले पहिलोपटक पृथ्वीतर्फ आउन सक्ने खतरनाक क्षुद्रग्रहको दिशा मोड्दै


  काठमाडौं   सवालनेपाल   २०७८ मंसिर ९, ११:५८

कुनै दिन पृथ्वीतर्फ आउन सक्ने एउटा खतरनाक एस्टेरोइड अर्थात् क्षुद्रग्रहको दिशा मोड्ने ‘डार्ट मिसन’ नासाले लन्च गरेको छ ।

अन्तरिक्षमा तैरिरहेको उक्त विशाल चट्टानलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न कत्तिको कठिन रहेछ भन्ने यस मिसनले पत्ता लगाउनेछ । पृथ्वीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे यसले धेरै कुरा सिकाउने अपेक्षा गरिएको छ ।

सौर्य प्रणाली निर्माण हुँदा बाँकी बचेका चट्टानलगायत अंशहरू क्षुद्रग्रह हुन् । अन्तरिक्षको चट्टान सूर्य वरपरको मार्गबाट पृथ्वी घुमिरहेकै समयमा एकै ठाउँ आइपुगेर ठोक्किनु एकदमै दुर्लभ कुरा मानिन्छ । त्यसैले पनि हालका लागि सो क्षुद्रग्रह जोखिमपूर्ण नरहेको तर पछि यसले प्रभाव पार्न सक्ने खतरा कायमै रहेको बताइएको छ ।

यस प्रकारले क्षुद्रग्रहको मार्ग बदल्ने यो मानव समुदायकै पहिलो प्रयास हुनेछ । यसमा प्रयोग गरिने यान सो चट्टानसँग ठोक्किनेछ र यानको रफ्तारले त्यसको मार्ग कुन स्तरमा बदल्न सक्छ भन्ने पत्ता लगाइनेछ ।

अन्तरिक्षमा भएका केही सय मिटर चौडाइका चट्टान पृथ्वीमा ठोक्किने हो भने त्यसले एउटा पूरै महादेशभरि क्षति पुर्‍याउन सक्छ ।

फेल्कन ९ रकेटलाई बोकेको उक्त यान बुधबार क्यालिफोर्नियाको स्पेस फोर्स बेसबाट उड्नेछ ।

डार्ट मिसनले दुईवटा क्षुद्रग्रहलाई लक्षित गर्नेछ, जो एकार्काको वरपर घुमिरहेका छन् । यसमा यानले सानो चट्टानलाई ठक्कर दिनेछ । त्यो चट्टानलाई ‘डाइमोरफोस’को नाम दिइएको छ ।

नासाको ग्रह रक्षा सहकार्य अफिसबाट केली फास्टले भनेका छन्, “डार्टले केबल डाइमोरफोसको मार्गलाई थोरैले मात्र परिवर्तन गर्ने प्रयास गर्नेछ । कुनै पनि क्षुद्रग्रहबारे अगाडि नै थाहा पाइयो भने त्यतिको बदलाव नै हाम्रो ग्रहलाई सुरक्षित राख्न पर्याप्त हुनेछ ।”

यो डार्ट मिसन ३२ करोड ५० लाख डलरको लागतमा सञ्चालन गरिँदै छ । डाइमोरफोसको आकार १६० मिटर चौडाइ रहेको छ । तर, सानो भए पनि डाइमोरफोसकै आकारको वस्तु जोडसँग फुट्ने हो भने यसले एउटा साधारण आणविक बमभन्दा धेरै गुणा बढी ऊर्जा निकाल्न सक्छ ।

यसले घना बस्ती भएको स्थलमा दशौँ हजारको ज्यान लिन सक्छ । त्यस्तै, ३०० मिटर या सोभन्दा ठूलो डाएमिटर भएका क्षुद्रग्रहले पूरै महादेशमा क्षति पु¥याउन सक्छन् । क्षुद्रग्रहको एक किलोमिटरभन्दा ठूलो चौडाइको हुने हो भने त त्यसले विश्वव्यापी प्रभाव पार्नेछ ।

पृथ्वीको गुरुत्वाकर्षण छलिसकेपछि डार्टले सूर्यको वरपर आफ्नै पथ निर्धारण गर्नेछ । यसपछि यो पृथ्वीबाट ६७ लाख माइल्स टाढा यात्रा गर्नेछ । त्यहाँ यसको रफ्तार ६.६ किलोमिटर प्रतिसेकेन्ड हुनेछ । यो गतिले कुनै पनि वस्तुको मार्गलाई प्रतिसेकेन्ड एक मिलिमिटरले परिवर्तन गरिदिन सक्छ ।

त्यसैले डाइमोरफोसको दिशा पनि ठूलो चट्टान (डाइडिमोस)को वरपर केवल एक प्रतिशतले मात्र परिवर्तन हुने प्रक्षेपण गरिएको छ । यो एकदमै सानो दिशा परिवर्तन भए पनि यसले पृथ्वीसँग ठक्कर खान सक्ने पथबाट वस्तुलाई बाहिर मोड्न सक्छ ।

नासास्थित यस मिसनका वैज्ञानिक टम स्टेलर भन्छन्, “अन्तरिक्षमा ठूलोभन्दा साना क्षुद्रग्रह धेरै छन् । त्यसैले हामीले भविष्यमा कुनै क्षुद्रग्रहको सामना गर्नु परिहाल्यो भने त्यो यही आकारको हुनेछ भन्ने हाम्रो मान्यता छ ।”

सन् २००५ मा नासालाई पृथ्वीनजिकका १४० मिटर चौडाइभन्दा ठूला क्षुद्रग्रह पत्ता लगाउन भनिएको थियो । र, अहिलेसम्म त्यस समूहमा पर्ने कुनै पनि क्षुद्रग्रह पृथ्वीका लागि तत्काल जोखिमपूर्ण नहुने बताइएको छ भने त्यस्ता ४० प्रतिशत वस्तु मात्र फेला परेका छन् ।

डार्टले एउटा सानो क्यामरा पनि बोकेको हुनेछ, जसले यानलाई सही दिशामा ठक्कर दिन मद्दत गराउनेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार