नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुनसकेको छैन। बिहान १० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो साढे ३ बजेसम्म पनि सुरु नभएको हो।

समयमा बन्दसत्र सुरु नभएपछि महाधिवेशन प्रतिनिधिहरु अलमलमा परेका देखिन्छन्। कतिपय नेताहरु बन्दसत्रस्थलमै छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उता अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो 'कोर टिम'सँग परामर्श गरिरहेका छन्। सहमतिका लागि बिहानदेखि विभिन्न नेताहरूसँग छलफल गरेका उनी अहिले आफू बसेकै होटल पार्क सफारीमा विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीसँग छलफल गरिरहेका हुन्। महासचिव ईश्वर पोखरेल भने अहिले बन्दसत्र परिसरमा छन्।

शनिबारको बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तय गर्ने अधिकार दिएको थियो। तर, आफू निकटका नेताहरुकै आकांक्षाको व्यवस्थापन गर्न नसक्दा उनलाई कठिनाइ निम्तिएको छ। उनलाई अध्यक्षमा चुनौती दिन अघि सरेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने आफ्नो घोषणाबाट फिर्ता नभएका कारण ओलीलाई थप अप्ठ्यारो भएको छ।

अध्यक्षमा प्रत्यासी ओली र रावलबीच अहिलेसम्म संवाद हुन सकेको छैन। रावल पनि आफू निकटका नेताहरुसँग छुट्टै छलफलमा छन्।