के तपाइँ घर बनाउँदै हुनुहुन्छ । यदि हुनुहुन्छ भने खुशीको खबर छ । अहिले बजारमा सिमेन्टको भाउ प्रतिबोरा ३५/४० रुपैयाँसम्म घटेको छ ।
मंसिर सुरु भएपछि सिमेन्ट र डन्डीको भाउ ओरालो लागेको हो । निर्माणजन्य सामाग्री बिक्रेताका अनुसार डन्डीको मूल्य प्रतिकिलो १२ रुपैयाँ घटेको छ ।
यो बिचमा डन्डीको मूल्य किलोमा १२ रुपैयाँसम्म बढेर किलोको १०५ देखि ११५ रुपैयाँसम्म पुगेको थियो । अहिले १२ रुपैयाँ घटेर पुरानै मूल्यमा फर्किएको हो ।
तर, सिमेन्टको मूल्यमा भने खासै बृद्धि भएको थिएन । तैपनि अहिले बजारमा सिमेन्टको मूल्य बोरामा ३५/४० रुपैयाँसम्म घटेको व्यवसायीले बताए ।
कोभिडको तेस्रो लहर फैलिनुका साथै अन्तर्राष्ट्रिय बजारमा क्रुड आयल र कोइलाको मूल्य पनि घट्न थालेपछि सिमेन्ट र डन्डीको मूल्य घट्न थालेको हो ।
अहिले बजारमा ओपीसी सिमेन्टको उपभोक्ता मूल्य प्रतिबोरा ६९० रुपैयाँदेखि ७१० रुपैयाँसम्म रहेको छ । यस्तै, पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५९० रुपैयाँदेखि ६१० रुपैयाँसम्म रहेको छ ।
यसअघि सिमेन्टको मूल्य बोरामा करीव ४० रुपैयाँले बढेर ओपीसी सिमेन्टको मूल्य ७५० रुपैयाँसम्म र पीपीसी सिमेन्टको मूल्य ६५० रुपैयाँसम्म पुगेको थियो ।
नेपालमा सामान्यतया मंसिर लागेसँगै निर्माणको सिजन सुरु हुन्छ । निर्माणको सिजन सुरु भएपछि निर्माण सामाग्रीको मूल्य पनि बढ्न थाल्छ । यतिसम्म कि, कुनै निर्माण सामाग्रीको ज्यादा माग भएमा कालोबजारीसम्म हुन्छ ।
तर, यस पटक सिजनमै सिमेन्टको मूल्य घटेपछि निर्माण लागत केही कम हुने अनुमान गर्न सकिन्छ । त्यसमाथि डन्डीको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँले घटेको छ ।
घर बनाउँदा दुई प्रकारको सिमेन्ट प्रयोग गरिन्छ, ओपी र पीपीसी । बिम र ढलानमा ओपीसी र प्लास्टर तथा गारो लगाउन पीपीसी सिमेन्ट प्रयोग हुन्छ । निर्माण व्यवसायीका अनुसार एउटा अढाइ तले घर बनाउनका लागि करीव एक हजार बोरा सिमेन्ट खपत हुन्छ जसमा ५०० बोरा ओपीसी र ५०० बोरा पीपीसी सिमेन्ट खपत हुन्छ । नेपाल होम्स बाट



