गएकाे साउन २५ गते सेती नदीमा निर्माण भएको झनानाको मोटरेबल पुल तामझामका साथ उद्घाटन भएको थियो ।जयपृथ्वी राजमार्ग पर्ने दुर्गाथली गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थलारा गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आए सँगै आवतजावतमा सहज हुने अपेक्षासहित स्थानीय बासिन्दा खुसी भएका थिए । सेतीपारि रहेको बझाङको आधा भूभागका बासिन्दालाई आवागमनमा सहज हुने तथा खप्तड घुम्ने पर्यटकको यात्रा पनि निकै छोटो हुने विश्वास लिइएकाे थियाे ।

पाँच वर्ष लगाएर ९ करोड लागतमा निर्माण सम्पन्न यो पुलले दिएको खुशी चार महिना पनि टिक्न सकेन । कार्तिक पहिलो हप्ताको बेमौसमी वर्षा सँगै सेतीमा आएको बाढीले यो पुलमा क्षती पुर्याए पछि पुलमा आवागमन बन्द छ । बाढीले झनाना तर्फको पिलर र सडकको बीचको भाग बगाएपछि गाडी सञ्चालन हुन सकेको छैन । पुलमर्मत गरेर पुन सञ्चालन गरिदिनका लागि थलारा गाउँपालिकाका जनप्रतिनिधिहरु जिल्लादेखि प्रदेश र केन्द्रसम्म धाउन थालेका छन्। यद्यपि बन्द भएको डेढ महिनासम्म पनि पुल मर्मत भएर सञ्चालन हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्माण गर्ने बेला नै ठेकेदार कम्पनीले सहायता संरचना (सर्पाेट स्ट्रक्चर) राम्रो नबनाएका कारण पुलको यो हबिगत भएको थलारा​​गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायको भनाइ छ।उहाँले भन्नुभयाे ‘पिलरको अगाडि सामान्य ग्याबिन हालेर माटो भरेको कारण यस्तो भएको हो । हामीले उतिबेलै यसरी नबनानुहोस् भनेर अनुरोध गरेका हौँ । कसैले सुनेनन् । अहिले यो हालत भयो ।’ अध्यक्ष उपाध्यायले पुल पुन: सञ्चालन गर्नका लागि मर्मत खर्च बढी लाग्ने भएकाले पालिकाले सम्पूर्ण रकम बेहोर्न नसक्ने तर लागत साझेदारी गर्न सकिने भए पनि मर्मतका लागि कसैले चासो नदिएको बताउनु भयाे ।कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षा पछि आएको बाढीका कारण झनानामात्रै नभएर जिल्लाका ९ वटा सडक पुलमा क्षति भएको छ । ती मध्ये चार वटा निर्माण सम्पन्न भएका पुलहरु छन् भने चार वटा निर्माणधीन पुल रहेका छन्। सेती नदी तथा अन्य खोलामा आएको बाढीले आसपासको जमिन कटान गरेपछि ती पुलहरू जोखिममा परेका हुन् ।

जयपृथ्वी राजमार्गमा पर्ने मौरीबगरमा रहेको तारुगाड पक्की पुल बाढीले बगाएर ल्याएको ढुङ्गा र बालुवाले पुरिने अवस्थामा पुगेको छ । चैनपुर ताक्लाकोट सडक खण्डमा पर्ने सुनिकोट गाड पक्कीपुल, नारुगौडामा र तमैलमा बन्न लागेको निर्माणधीन पक्की पुल जोखिममा परेका हुन् ।योमध्ये तमैलको पुलको डिजाइन नै परिर्वतन गर्नुपर्ने अवस्था छ । सेती नदीले कटान गरेर तमैलतर्फ करिब २ सय मिटर जग्गा बगाए पछि पूर्व निर्धारित डिजाइन नै परिर्वतन गर्नुपर्ने अवस्था आएको सेतीलोक मार्ग उत्तर खण्ड (चैनपुर ताक्लाकोट सडक) कार्यालयका प्रमुख सुरेन्द्र बहादुर सिंहले बताउनुभयाे ।‘निर्माण सम्पन्न हुने अवस्थामा थियो । सेतीको धार नै परिवर्तन भए पनि पुल दुई भङ्गालोको बीचमा पुगेको छ’ उहाँले भन्नुभयाे ‘बनेको संरचनालाई कायमै राख्ने गरी कसरी निर्माण अघि बढाउने भनेर सल्लाह गर्दैछौँ’ । उहाँले यस कार्यालयले हेर्ने रायलको उत्कडी भन्ने ठाउँमा बन्न लागेको सडक पुलमा पनि सेतीले क्षति गरेको बताउनु भयाे ।

बेमौसमी बाढीले सेती लोकमार्ग अन्तर्गत पर्ने खप्तड छान्नामा रहेको निर्माणाधीन कुचेखोला र जडारी गाडको पुलमा पनि क्षति पुगेको छ । कुचेखोला पुलको पनि पूर्व निर्धारित डिजाइन नै परिर्वतन गर्नुपर्ने अवस्था आएको प्राविधिकहरूले बताएका छन् ।कुचे खोलामा पुल निर्माणका लागि राखिएको निर्माण सामग्री र निर्माण कम्पनीको स्काइभेटरमा पनि क्षति भएको सेती लोक मार्ग दक्षिण खण्डका इन्जिनियर प्रेज अमात्यले बताउनु भयाे । ‘ठूलो क्षति भएको छ । अब नदी डाइभर्ट गरेर पहिलाकै डिजाइनमा बनाउने कि डिजाइन नै परिवर्तन गर्ने भनेर छलफल गरिरहेका छौँ’ उहाँले भन्नुभयाे ‘केहीदिन भित्रै यसको निर्क्योल गरेर निर्माणको काम अगाडि बढाउने तयारीमा छौँ’ ।यस्तै कालङ्गा नदीमा आएको बाढीले बुङ्गल नगरपालिकाको १ मात्रै सडक पुल बिजगडा बेलिब्रिजमा पनि क्षति पुर्याएको छ।