कार्तिक ३, २०७३- सामान्यत: साँझ ५ बजे नै बन्द हुने संसद सचिवालय बुधबार राति ११ बजेसम्म खुल्लै रह्यो ।

एमाले र माओवादी केन्द्रका १५७ सांसदमा विवादित छविका अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि ११ बजेसम्म कामको चटारो पर्‍यो । राति अबेरसम्मै सभामुख ओनसरी घर्ती, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद सचिवालयमै व्यस्त रहे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाअभियोग दर्तापछि स्वत: पद निलम्बित हुने भएकाले त्यसको जानकारी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद् र लोकमानसिंह कार्कीलाई पठाइएको छ । पत्रमा संविधानको धारा १०१ को उपधारा ६ बमोजिम कार्कीको पद स्वत: निलम्बन भएको उल्लेख छ । सभामुखको पत्रको अन्तिममा लेखिएको छ, ‘महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था भएकाले सोही व्यहोरा जानकारी गराउँदछु ।’

महाअभियोग प्रस्तावमाथि छलफलको मिति बिहीबार बस्ने संसद बैठकमा नै सभामुखले निर्धारण गर्ने सम्भावित कार्यतालिकासमेत सार्वजनिक भएको छ ।

सभामुखको पत्रसँगै अख्तियार प्रमुख कार्की स्वत: निलम्बित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले संविधानअनुसार कार्कीले महाअभियोग टुंगो नलाग्दासम्म कार्यसम्पादन गर्न पाउँदैनन् । ‘हामीले निलम्बित शब्द प्रयोग गरेका छैनौं,’ राति अबेर संसदबाट बाहिरिदै गर्दा गौतमले संवाददाताहरुसित भने, ‘उहाँले कार्यसम्पादन गर्न पाउनुहुन्न ।’