काठमाडौं, ४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबारका लागि बोलाएको विशेष साधारणसभा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने भएको छ । विशेष साधारणसभाले विधान संशोधन गर्न नपाउने जिकिर गर्दै महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र नेपाल जडीबुटी उद्योग संघका अध्यक्ष गोविन्दराज घिमिरेले सोमबार पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतका मुख्य न्यायाधीश टंक मोक्तान र न्यायाधीश डिल्लीराज आचार्यको इजलासले अन्तरिम आदेश दिनुनपर्ने निर्णय गरेको हो । रिटमाथि दुवै पक्ष राखेर भएको सुनुवाइमा अदालतले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेसँगै विशेष साधारणसभा नरोकिने निश्चित भएको हो । बिहीबार सुरु हुने साधारणसभाले विधान संशोधनको प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ । कार्यकारिणी समितिको धनगढी बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरी गत महिना चन्द्रागिरिमा सम्पन्न बैठकले विशेष साधारणसभामा प्रस्तुत गर्न अनुमति दिएको थियो ।

सो प्रस्ताव अनुमोदन भएमा वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । यस्तै, संघीयताअनुसार महासंघको विधानमा कार्यकारिणी समितिको व्यवस्था गरिएको छ । महासंघको इतिहासमा ९ वर्षपछि विधान संशोधन हुन लागेको हो । पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ र चण्डिराज ढकाल संशोधनको पक्षमा खुलेर लागेका छन् भने महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदिपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य विपक्षमा छन् । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय