भारतीय रक्षा प्रमुख विपिन रावतका सुरक्षाकर्मी दार्जिलिङका नेपाली भाषी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ।

यसैहप्ताको बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा एउटा सैन्य विमान दुर्घटना हुँदा त्यसमा सवार १४ मध्ये १३ को ज्यान गएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो हेलिकप्टरमा भारतका पूर्व सेनापति तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत पनि सवार थिए। दुर्घटनामा रावतसँगै नेपाली भाषी दार्जिलिङका सितपाल राईको मृत्यु भएको टेलिग्राफ इन्डियाले जनाएको छ।

राई दार्जिलिङको तकदा चिया कमान निवासी थिए। खबरअनुसार भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हबलदार पदमा रहेका राई रक्षा प्रमुख रावतका नीजि सुरक्षाकर्मी थिए।

परिवारका अनुसार सतपालले दुर्घटनापूर्व बुधबार बिहान आफ्नो छोरा विकल राईलाई फोन गरेर तमिलनाडु गइरहेको जानकारी गराएका थिए।

सतपालका एक मात्र छोरा विकल राई पनि भारतीय सेनामै कार्यरत छन्। राईको पार्थिव शरीर आज शुक्रबार दार्जिलिङमा अत्येष्टी गरिनेछ।