नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो चार महिनामा साढे ९०० अंकभन्दा बढीले घटेको छ । कोरोना महामारीमा निरन्तर बढ्दै नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको परिसूचक चार महिनायता लगातार घटिरहेको छ ।
नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा यही वर्षको भदौ २ गते परिसूचक ३१ सय ९८ अंकमा पुगेको थियो । बजारले नयाँ कीर्तिमान कायम गरेयता निरन्तर ओरालो गतिमा छ । आज मंसिर २७ गतेसम्म आइपुग्दा परिसूचक २३ सय अंकमा छ ।
भदौ २ गतेदेखि मंसिर २७ गतेसम्मको करिब चार महिने अवधिमा बजार करिब साढे ९०० अंकले घटेको छ भने कारोबार रकम र सेयर किनबेच पनि खुम्चिएको छ । साउन–भदौको समयमा दैनिक २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा अहिले मुस्किलले तीन अर्बको कारोबार हुन्छ । यसले खुम्चिँदो नेप्से परिसूचकलाई कारोबार रकमले पनि साथ दिएको छैन ।



