विराटनगर — दुर्गम कालीकोटको फोइमहादेव गाउँका ६१ वर्षीय कृष्ण पाण्डे शरीरले धानेसम्म न्याना कपडाको भारी बोकेर कात्तिक पहिलो सातादेखि विराटनगरका गल्ली चाहार्छन् । मोरङ र सुनसरीका भित्रि बस्तीसम्म सम्म पुग्छन् । दैनिक झन्डै १ हजार ५ सय रुपैयाँसम्म कमाउँछन् ।
कालीकोटमा खेतवारीको उत्पादनले हातमुख जोडन पुग्दैन । पाण्डेले भने, ‘गुजारा चलाउन दुई दशकदेखि पूर्वी तराईमा उनी कपडाको व्यापार गर्दैछु ।’ कात्तिकदेखि फागुनसम्म मधेसमा कपडाको व्यापार गर्दा कालीकोटको जाडो पनि छलिन्छ । हिउँदमा जाडो छल्दै यो व्यापार गर्ने पाण्डे एक्ला होइनन् । उनका दुई छोरा सँगसँगै हिड्छन् । ‘६ महिना व्यापार गर्दा डेढ लाख रुपैयाँ जत्ति जोगिन्छ,’ उनले भने । यतिको रकम लिएर घर पुग्दा खेती गर्न र ६ महिना परिवारको गुजारा चल्ने पाण्डेले बताए ।
कालीकोटकै पुगमालिका गाउँको जुमिया टोलका १९ वर्षीय नरेन्द्र शाही पनि व्यवसाय गर्न विराटनगर आइपुगेका छन् । उनको परिवारमा तीनै दाजुभाइले कपडा बेच्छन् । कालीकोटका उच्च पहाडी बस्ती महावुलेख, ओदानुक, चुलिमालिका, दाहा, बादलकोट, भवानीधाम, सुकाटिया, बढीमालीका, मुम्रा, रुप्सा, देउली, नानीकोट र सीपखानामा आफ्नो उत्पादनले ६ महिना पनि परिवारको गुजरा नचल्ने भएकाले ती क्षेत्रका प्राय सवै पुरुष यतिबेला जाडो छल्न र ६ महिना परिवारको गुजरा जोह गर्न तराई–मधेसका जिल्ला झर्छन् ।
‘पूर्वी तराईका सामान्य परिवारकाले बढी किन्छन्,’ उनले भने,‘चाइजिन सामान आकर्षक देखिने हुनाले कहिलेकाहीँ सम्पन्न परिवारका गृहिणीहरूले पनि मन पराइ दिन्छन् ।’ पाण्डेको अनुसार हुनेखाने परिवारकाले यस्ता सामानको मोलमोलाइ नगरेर भने जस्तो मूल्य हाल्छन् । ‘काँधको बोझ घटाउन सामान्य नाफामा पनि सामान बिक्री गछौ,’ अर्का व्यापारी शाहीले भने,‘तर हाम्रो नियती र अवस्था हेरेर तराईबासीले माया गर्दै आएका छन्, हामी आफ्नो अवस्था सुनाउँछौ ।’
शाहीका अनुसार उपभोक्ताले माया गरेर सामान किनिदिने गरेकाले हाम्रो व्यापार चल्दा घरको ६ महिना चुल्हो बल्दै आएको छ ।



