सबै मुलुकको आफ्नै नियम हुन्छ । उत्तर कोरियामा अरुले सुन्दा अचम्म लाग्ने नयाँ नियम लागू भएको छ । त्यहाँ हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । अबका ११ दिन त्यहाँका नागरिकलाई हाँस्न प्रतिवन्ध लागेको हो । हाँस्न मात्र होइन कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो ।
उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।
उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा रमाउने काममा पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् । किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, म दि रा पान गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।
शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार उत्तर कोरियामा विगतमा पनि शोकको अवधिमा सरकारी आदेश उल्लंघन गरेको आरोपमा कयौंलाई नियन्त्रणमा लिइएको थियो । तिनलाई वैचारिक अपराधीका रुपमा सजाय दिइएको बताइन्छ ।
उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा निधन भएको थियो । उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए । किम जोङ्ग इलको निधनपछि उनका छोरा किम जोङ्ग उन सत्तामा आएका हुन् ।



