काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । बैंकले ८% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ । यस्तै, बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
यता, एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ । सभा गर्न बैंकले पुस २१ गते बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।


