प्रेम अन्धो हुन्छ कुरा सायद तपाईंले पनि सुन्नु भएको होला । प्रेम सम्बन्धलाई लिएर कहिलेकाहीँ विश्वास गर्न गाह्रो पर्ने घटनाहरु हुन्छन् ।हालै, टर्कीमा २० वर्षीया एसिड पीडित युवतीले आफूमाथि एसिड प्रहार गर्ने व्यक्तिसँग विवाह गरेकी छन् ।
यो विवाह सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले युवतीको आलोचना गरिरहेका छन्, भने कतिपयले यसलाई व्यक्तिगत निर्णय भन्दै समर्थन गरिरहेका छन् ।
एसिड सर्भाइभरको नाम बर्फिन ओजेक हो, जसमाथि २०१९ मा कासिम ओजान सेल्टी नामका केटाले एसिड फ्याँकेका थिए। आरोपितले लगातार माफी मागेपछि पीडितलाई दया लाग्यो र आरोपित युवकसँगै विवाह गरिन् ।
बर्फिन ओजेक र कासिम ओजान सेल्टी दुवै एकअर्काको प्रेममा थिए । तर जब बर्फिनले सम्बन्ध अन्त्य गर्ने कुरा गरिन्, कासिमले उनलाई एडिस हानेका हुन् ।
आरोपितले पीडितलाई एडिस फ्याँक्नुअघि आफ्नो हुन नसके अब अरु कसैको हुन नसक्ने चेतावनी दिएका थिए । यो दुर्घटनापछि पीडित युवती होशमा आउन केही समय लाग्यो । उनले प्रहरीलाई आफ्नो प्रेमीबारे बताएकी थिइन् ।
त्यसपछि आरोपीलाई पक्राउ गरी अदालतले १३ वर्षको जेल सजाय सुनायो । जब कासिमले आफ्नो गल्ती महसुस गरे, उनले बर्फिनलाई धेरै सन्देशहरू पठाए ।
अन्तमा बर्फिनलाई पनि दया लाग्यो । केही समयपछि दुवैले एकअर्कालाई चिठी पठाएर कुरा गर्न थाले । कोरोना नियमका कारण कानूनमा केही परिमार्जन गरियो, जसकारण ती युवक छिट्टै जेलबाट छुटे ।
जेलबाट बाहिर आउनेबित्तिकै कासिमले बर्फिनलाई प्रस्ताव राखे र दुवैले विवाह गर्न पुगे । यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बर्फिनका बुबा यो बिहेबाट निकै आक्रोशमा छन् । उनले यो बिहेबारे आफूलाई केही थाहा नभएको बताए । वर्षौंसम्म कानुनी लडाइँ लड्दा पनि सबै बर्बाद भएको उनको भनाई रहेको छ ।