काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।

उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि मात्र उक्त आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ ।

आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड ३७ लाख पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ६१ लाख ३७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. १ करोड ३४ लाख ६१ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनमा चालू आवमा २२ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ७४ लाख ४० हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ८ करोड १४ लाख २१ हजार सापटी लिएर रू. ७० करोड २० लाख ८२ हजार निक्षेप संकलन गरेर रू २ अर्ब ८ लाख कर्जा लगानी गरेको छ । कम्पनीको मुख्य कार्यालय सिराहको गोलबजारमा रहेको छ । हालसम्ममा कम्पनीले ३१ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय