श्रीलंकामा आर्थिक तथा मानवीय संकट गहिरिँदै जाँदा टाट पल्टिने स्थिति आएको छ ।
महंगीले कीर्तिमान छोइरहेको बेलामा खाद्यान्नको मूल्य बढेको छ भने राज्यकोष रित्तिँदै गइरहेको छ ।
कोभिड संकटको असर तथा पर्यटन क्षेत्रमा पुगेको क्षतिसँगै सरकारले गरेको अत्यधिक खर्च र करछुटका कारण समस्या आएको हो । त्यसमाथि चीनलाई तिर्नुपर्ने विशाल ऋण र विदेशी मुद्रा सञ्चिति अत्यन्तै न्यून हुनुले समस्या निम्त्याएको हो ।
सरकारले आन्तरिक तथा विदेशी ऋण तिर्नका लागि पैसा छाप्न थालेकाले महंगी बढेको हो ।
महामारी शुरू भएदेखि अहिलेसम्म श्रीलंकामा पाँच लाख मानिस गरीबी रेखामुनि पुगेको विश्व बैंकले अनुमान गरेको छ ।
गत नोभेम्बर महिनामा महंगी कीर्तिमान ११.१ प्रतिशतले बढेको थियो । मूल्यवृद्धिका कारण पहिलेका धनीहरूलाई समेत परिवारको पेट पाल्न धौधौ परिरहेको छ । अत्यावश्यक वस्तु समेत धेरै मानिसका लागि महंगो बनेको छ ।
राष्ट्रपति गोटाबाया राजपक्षेले श्रीलंकामा आर्थिक संकटकालको घोषणा गरेपछि सेनालाई चामल तथा चिनी सरकारले तोकेको मूल्यमा बेचिने सुनिश्चितताका लागि अधिकार दिइएको थियो । तर त्यसले जनताको पीडा घटाउन सकेको छैन ।
पर्यटन क्षेत्रको रोजगारी तथा विदेशी मुद्रा आयले श्रीलंकाको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी भाग योगदान गरेको थियो । तर महामारीका कारण यस क्षेत्रमा दुई लाखभन्दा बढी मानिसले रोजीरोटी गुमाएको विश्व यात्रा तथा पयैटन परिषद्ले जनाएको छ ।