बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ । सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो ।गत हप्ता मात्रै आफूलाई अपहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछि सडेको अवस्थामा शव भेटाएको हो ।

शव स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भने,‘केही दिन अघि हराएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको थियो । तर, उसले आफैले मान्छे मारेर भागेको भनेपछि हामीले ओडारभित्र खनेपछि शव भेटाएका हौं । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे शव निकालिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूले ह'त्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मार्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।