नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यावाची बनेकी नायिका हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा २ दशक अगाडि चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् ।‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरोे मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमकोे बलमा हिट बनाइन् । नायकले नायिका जन्माउने योे क्षेत्रमा रेखाले भने नायकहरुलाई यो क्षेत्रमा जन्म दिइन् ।
रेखाले करिअर अगाडि बढाउँदै गर्दा उनकोे बिहे निर्माता छविराज ओझासँग भयोे । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखाले एक दशक अगाडि नै पारापाचुके गरेर मित्रपार्ककोे अपार्टमेन्टमा बस्दै आएकी छिन् ।हुनत, रेखाको नाम चलचित्र क्षेत्रमा विभिन्न नायकहरुसँग नजोडिएको होइन । तर, ती सबै चलचित्र चलाउने फन्डा मात्र थिए भनेर वुझ्न गाह्रो छैन ।छविसँग अलग भएको एक दशकपछि रेखाको बिहे चर्चा फेरि चलचित्र बजारमा चल्न थालेको छ । वुझिएअनुसार, रेखा वैशाख महिनामा बिहेको तयारीमा छिन् । श्रोतका अनुसार, रेखा केही समयदेखि एक यूवकको प्रेम सम्बन्धमा छिन् । उनी, प्रेमीसँग नै बैबाहिक जीवनको तयारीमा रहेको वुझिएको छ ।
रेखाले भने आउँदो साल आफूले बिहे गर्ने जवाफ मात्र दिदै आएकी छिन् । उनले, बिहेको प्रश्नलाई टार्न यस्तो जवाफ दिने गरेको पनि बताउँछिन् । रेखाले बिहे भव्य रुपमा नगर्ने सोच बनाएकी छिन् । रेखा निकट श्रोतका अनुसार, उनी सामान्य तरिकाले बिहे गरेर मिडियालाई र दर्शकलाई यसको बारेमा जानकारी दिने सोचमा छिन् ।बिहे तामझामका साथ गर्न हुँदैन भन्ने सोेच राख्ने रेखाले योे बिषयमा सचेतना पनि जगाउँदै आएकी छिन् । यसैले, आफ्नो बिहे पनि भव्य रुपमा गर्दा गलत सन्देश जाने रेखाको वुझाई छ ।
कोरोना महामारी लम्बिदै गएको अवस्थाले गर्दा पनि चलचित्रको काम अगाडि बढ्न सकेको छैन । यसैले, रेखा वैशाखमा बिहे गरेर जीवनलाई नयाँ ढंगले अगाडि बढाउने सोेचमा छिन् । यसपछि, करिअरलाई पनि अगाडि बढाउन सहज हुने उनको वुझाई छ । तर, रेखाले भने बिहे हुने पक्का नभएको बताउँदै आएकी छिन् । तर, बिहेको बारेमा भने आफूले सोचिरहेको उनको भनाई छ ।



