हाम्रो सवारी साधन ठाँडीबाट देउलाङको लागि उकालो चढ्दैथियो । दोलखाको यो पवित्र भूमि, सत्ययुगमा महादेवको जन्मभूमि ! कच्ची सानो सडकका मोडहरूमा सवारी चालकले हृयान्डिल बटार्दै ब्याक गर्दा मन सिरिङ्ग हुनेगथ्र्यो । तर महादेव सम्झिएर मन चिमोटिएको थियो किंवदन्तीको सत्य अनुभूत भएर ।यो ठाउँमा अहिले देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बनेको छ । कच्ची साँघुरो बाटोको यात्राको त्रासबाट उन्मुक्ति खोज्दै आँखा चिम्लिंदा मन एकाग्र भएछ । मनका काल्पनिक शिल्पीहरू त सत्ययुगको विमानसँगै लामाबगरका आकाशको विचरण गरिरहेको रहेछ ।अहिले स्वस्थानी ब्रतकथा आरम्भ भएको छ । नेपालका धेरै घरमा यो कथा वाचन हुने गरेको छ ।

विमानमा देवताहरूको जोडी रमाइलो गर्दै भारतको कनखलतिर दक्ष प्रजापतिको महायज्ञको लागि उडेको किंवदन्ती स्वस्थानी ब्रतकथामा उल्लेख छ । महादेव पत्नी सतीदेवीले माथि आकाशमा हेर्दै विमानमा देवताहरू कता गएका होलान् ? भनेर सोधेको प्रसंग यही लामाबगर माथिको आकाश हो रे ! मनमौजी स्वभावका महादेव त्यतिबेला सतीदेवीसँग पासा खेलेर रमाइरहेका थिए ।महादेव-सतीदेवीले रमाइलो गरिरहेको ठाउँमा टुप्लुक्क पुगेछन् नारद । अनि दक्ष प्रजापति (सतीदेवीका पिता) ले महायज्ञ गरेको र सबै छोरी-ज्वाईंलाई बोलाएको भन्दै महादेव-सतीदेवीलाई किन नगएको भनेर प्रश्न राखे । अन्तरयामी महादेवलाई कपटी दक्ष प्रजापतिको योजना जगजाहेर थियो । विचरी सतीदेवी, पूजनीय पिताजीको अपहेलना उनको लागि अनभिज्ञ थियो ।

त्यसैले त जिद्दी गरिन् महायज्ञमा जान र पतिको अपमान सहन नसकेर कनखलको यज्ञकुण्डमा फालहालेर देहत्याग गर्दै इहलीला समाप्त गरिन् ।म कल्पना गर्दैथिएँ, सतीदेवीले कनखलको यज्ञकुण्डमा देहत्याग गर्नुपर्ने अवस्था आउँदैनथ्यो भने महादेव र सतीदेवीले रात्रिकालीन समयमा विमानमा रमाइलो गर्दै लामाबगरको आकाशमा फेरो मार्दा लामाबगर, विगु, गौरीशङ्करका भूभागहरू बिजुलीका उज्यालोले धपक्कै बलेका हुनेथिए ।ल हेर त सती, मानवले विज्ञानमा विजय प्राप्त गरेर प्रविधिको विकाससँगै ताम्राकौसीकाबाट बिजुली पो निकालेछन् ! – महादेवले यसैगरी आश्चर्य प्रकट गर्थे होलान् ।

बिजुली निकाल्न लामाबगरमा बनाइएको ड्याममा डुङ्गामा सवार भएर तिब्बतको यात्रा तय गर्थे होलान् र सतीदेवीलाई काखमा राखेर विमानमा सवार भई दक्ष प्रजापतिलाई दर्शन दिन भारतको कनखलतिर उड्थे होलान् ।म, हामी हुइँकिएको सवारी साधनको अगाडि सिटमा थिएँ । बीचको सिटमा पत्रकार साथीहरू जीवन, गोकर्ण, सृजन र सुवास थिए । चालक लालवीरले सर त निदाउनुभयो है, भन्दा म झस्किएँ । मनलाई महादेव- सतीदेवीको आत्मीय प्रफुल्लतामा विचरण गराइरहँदा आँखा त साँच्चै निदाउन खोजिरहेका रहेछन् ।लालवीरको खैसँगै आफूलाई सम्हाल्दै ज्याकेटको कलर र फेरो मिलाएँ । यतिबेलासम्म हामी देउलाङको पवित्र भूमि देउलाङ्गेश्वर महादेवको मन्दिर रहेको ठाउँमा पुगिसकेका थियौं ।

मिलारेक्पा हिमालले चियाइरहेको यो भूमि साँच्चै पवित्र मात्र हैन सुन्दर पनि छ । लस्करै हिमाल देखिने देउलाङमा केही घरहरू छन् । शालीन, मिलनसार, मिहिनेती र इमानदार तामाङहरूको बस्ती हो यो । पढालेखा महिलाहरू कम छन् । पुरुषहरू रोजगारीका लागि तेस्रो मुलुक पुगेका छन् ।वैदिक सनातन संस्कार अनुसार हजारौं वर्ष पहिलेदेखि स्वस्थानी ब्रत कथा प्रारम्भ भएको हो । त्यही स्वस्थानी ब्रतकथामा महादेव-सतीदेवीको एउटा प्रसंग छ । दक्ष प्रजापतिकी ज्येष्ठ सुपुत्री सतीदेवीलाई महादेवले विवाह गरेर कैलाशमा ल्याउँदै थिए । घनाजंगल, उकाली-ओराली, हिमालसँगको सामीप्यता । महीनौंको हिंडाइपछि महादेवले पहाडको एउटा टुप्पामा खरको घर तुल्याए र सतीदेवीलाई आफ्नो घर यही हो भनेर देखाए । खरले तुल्याएको घर बाहिर आफू भाङ, धतुरो खाएर सुते ।

निद्राबाट ब्युँझिएपछि महादेवले सतीदेवीलाई यो हाम्रो घर हैन, खरको भित्ता च्यातेर हेर भने । भएको घर बिगारेर अर्को घर कहाँ खोज्ने भन्दै सतीदेवीले मानिनन् । तब महादेव उठेर खरको भित्तामा लात्ताले हानेर आफ्नो वासस्थान कैलाश पर्वतको दर्शन गराए । हाम्रो यात्रामा साथ दिएका स्थानीय पहलमान तमाङले सगौरव उद्घोष गरे- महादेवले खरको भित्ता च्यातेर सतीदेवीलाई कैलाशको दर्शन गराएको ठाउँ यही हो, देउलाङ ।भारत, नेपाल र चीनको तिब्बत जोड्ने सिल्करोड यही भूमिहुँदै अगाडि बढेको छ । महादेवले भारतको कनखलबाट सतीदेवीलाई विवाह गरेर तिब्बतमा रहेको कैलाश पर्वत -आफ्नो घर) लैजान यही बाटो हुँदै आएर देउलाङमा खरको घर तुल्याएका हुन् भन्ने कुरा सिल्करोडको सत्यले पनि पुष्टि गर्दछ ।

पहलमान तामाङको उद्घोषले हामी उत्तेजित बन्यौं । ओहो ! दोलखाको पवित्र भूमि । महादेवको जन्म थलो दोलखाको देउलाङ । मेरा अन्तरङ्ग काल्पनिक शिल्पीहरूले एकपटक फेरि दोलखा भूमिको फेरो लगायो । कालिञ्चोक भगवती, पाँचपाण्डव मध्येका भीमसेन (भीमेश्वर), राम-सीता कसको पाइला परेनन् होला दोलखा भूमिमा ।रोल्वालिङ हिमशृङ्खलामा हिमचितुवाको चटकी दौड, च्छोरोल्पा, बेदिङ, सुरमुचे, नाँ, सिमीगाउँतिरको डाँफे र मुनालको चिरबिरे नाच । लामाबगर, लप्चीतिरको झारल, घोरल र मृगको उछलकुद । महादेव- सतीदेवीलाई प्राकृतिक सुन्दरता र सजीव प्राणीको गतिविधिले मोहित बनाएको भूमि हैन र दोलखा ।

महादेवले सतीदेवीसँग मधुर प्रेमको वर्षात् गर्दै हातेमालो गरेको हाम्रो यो भूमि अनि सतीदेवीको देहावसानपछि हिमालय पर्वतको कोखमा जन्म लिएकी पार्वतीलाई मायालु छल गर्न किरातेश्वर महादेवको रूप धारण गरेर वन विहार गरेको (किरातीछाप) हाम्रो यो भूमि ।बिहानीको झुल्केघाममा हिमचितुवाले शरीर पर्सिएर हिउँका डल्लाहरूलाई पन्छाउँदा निस्कने सप्तरङ्गी इन्द्रेणीको धर्साहरूले शोभायमान बनेको अलौकिक दृश्यमा रमाउँदै गौरीशङ्करको फेदीतिर महादेव-पार्वतीको दौड अहिले पनि चल्छ होला । सानो गाँठीको चुलबुले रेडपाण्डाको अबोध उछलकुदमा एकोहोरिएर पार्वतीको हात मुसार्दा महादेवले कहिले कहिले त भाङ-धतुरो नै खान भुल्दा हुन् ।

मैले सुनेको छु भारतको कनखल, जहाँ सतीदेवीले यज्ञकुण्डमा फालहालेर देहत्याग गरिन् । कनखलको मनोरम व्यवस्थापनले वर्षेनि लाखौं पर्यटक आकषिर्त गरिरहेको हुन्छ रे Û दोलखाका राजनीतिज्ञ केशव चौलागाई र समाजसेवी वेदबहादुर केसी कनखल पुगेर आउनुभयो । उहाँहरूले वर्णन गर्नुभयो सतीदेवीले देहत्याग गरेको यज्ञकुण्डको । कनखलको व्यवस्थापनले स्वस्थानी ब्रतकथाको किंवदन्तीलाई अहिले पनि सत्य भएको प्रमाण दिइरहेको छ रे ! सनातन कालको त्यो सत्य किंवदन्तीलाई प्रमाणको रूपमा राख्न भारत सरकारले गरेको व्यवस्थापन प्रशंसनीय छ । तर हाम्रो लागि अनुकरणीय हुन सकेन, विडम्बना !

देउलाङको व्यवस्थापनमा के कुराले रोकेको होला ? किंवदन्ती अनुसार बाबियोडाँडा कसेरीको ब्राहृमणको एउटा गाई पहरो फुटाएर देउलाङ पुगी सधैं देउलाङ्गेश्वर महादेवको मन्दिरमा रहेको शिलामा दूध दिने गर्थिन् । गाईले घरमा कहिल्यै दूध नदिने भएपछि गोठालोले रिस थाम्न नसकी आफूले भिरेको खुकुरीले गाईलाई काटिदिए । छिनिएको शिर गौरी शङ्ख बनेको र शरीर शिलामै समाहित भएको थियो ।गाईको शिरबाट बनेको गौरी शङ्ख २०३६ सालसम्म थियो भन्छन् स्थानीय पहलमान तामाङ ।

हामीले त्यो ऐतिहासिक शङ्खको समेत संरक्षण गर्न सकेनौं । देउलाङ्गेश्वर मन्दिरमा पुरातत्त्व विभागको सहयोगमा नयाँ भवन बनेको छ । तर त्यसमा किंवदन्तीका ऐतिहासिक पक्ष केही भेटिंदैन ।महादेव-सतीदेवीको ऐतिहासिक थलो देउलाङको जगमा छ, देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । फेरि पनि हामीले देउलाङसम्म पुग्ने सडक राम्रो बनाउन सकेका छैनौं । मन्दिरको वरिपरि बिजुलीको झिलिमिली बनाउन सकेका छैनौं ।फगत कल्पना ठहरियोस्, तर म चाहन्छु देउलाङको टुप्पोमा बसेर महादेवले बिजुलीको उज्यालोमा धपक्कै बलेको देउलाङ्गेश्वर मन्दिर देख्न सकुन् ।

मानवले विकास गरेको आधुनिक सवारी साधनहरू देउलाङका आँगनभरि छरपष्ट बनुन् र हजारौं भक्तजन लावालस्कर लागेर देउलाङको शिलामा छाँद हाल्दै आशीर्वाद मागुन् ।सत्ययुगको विमानलाई छोडेर आधुनिक सवारी साधनमा हुँइकिने अधिकार महादेवलाई छैन र ? सतीदेवीको मृत शरीर काँधमा बोकेर महादेवले पृथ्वीको धेरै परिक्रमा गरेका छन् । अब हृदयमा सतीदेवीको यादलाई बोकेर आधुनिक सवारी साधनमा हुँइकिंदै कहिले कालिञ्चोकको कुरीबाट केबुलकार चढेर टाकुरामा पुगुन्, कहिले किरातीछापको फाँटमा टोलाएर वन विहारको अजीव अनुभूति गर्न सकुन्, कहिले त्रिपुरासुन्दरीमा पतन भएको सतीदेवीको अङ्ग खोज्दै भौंतारिन सकुन् । अनि कहिले कहिले त शालिनदीमा पुगेर गोमा ब्राहृमणीसँगको त्यो आत्मीय अन्तरङ्ग पलहरूलाई समेत संस्मरण गर्न सकुन् ।

र भन्न सकुन्- हेर त सती, मानवले विकास गरेको नयाँ संरचनामा तिम्रो पदचापका प्रत्येक कर्णहरू सुरक्षित रहेका छन् । तिमीलाई हात समाएर डोर्‍याउँदै अघि बढेका सुन्दर प्राकृतिक भूमिहरूमा तिम्रो यादलाई अझ ताजा राख्ने आधुनिक संरचना निर्माण भएका छन् । तिमीलाई काँधमा बोकेर बौलाहा झैं पुथ्वीको फेरो मार्दा मेरो आँखाबाट झरेका प्रत्येक आँशुका थोपाहरूको मूल्य मानव विकासको वर्तमानमा टहल्दै तिम्रै हृदयको उच्चतम श्वासका चालहरूसँग असुलिरहेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah