डोटीमा दिन प्रतिदिन कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरी प्रशासनले बजार आवत–जावतमा कडाइ गर्दै ‘तपाईंको मास्क खोइ’ अभियान थालेको छ । जिल्लाभर प्रहरीले यो अभियान थालेको हो । ऋभियानका क्रममा प्रहरीले मास्क बितरण गर्नुका साथै मास्क लगाउन आग्रह गर्न गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर अभियान थालेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । ‘कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ, जोखिम न्यूनीकरणका लागि हामीले मास्क लगाउन र सुरक्षित बस्न सिकाउँदै छौं, अटेर गर्नेलाई कारबाही हुन्छ ।’ –उहाँले भन्नुभयो । उक्त अभियानमा प्रजिअ विष्ट आफैं सहभागी हुने गरेका छन् । यसै गरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ । उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्न थालेको छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २ सय पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा शहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको शिखर नगरपालिका–१० का हरिलाल धामी बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय