काठमाडौ‌ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ ।जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।

‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।अन्यथा काेष आफैले छाप्रा भत्काउने चेतावनी दिइएकाे छ ।

त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खाेजिएकाे थियाे । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि काेषले कदम चाल्न सकेकाे थिएन ।यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।

सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो ।यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय