कार्तिक ५, २०७३- डेब्यु फिल्म ‘भूतनाथ’ बाटै निर्देशकका रूपमा आफुलाई बलिउडमा स्थापित गरेका विवेक शर्माले नेपाली फिल्म बनाउने भएका छन् । शर्माले नेपालका निर्माता रोज राणाको लगानीमा ‘मेरो पैसा खै’ बनाउने भएका हुन् । कमेडी जानरामा बन्ने उक्त फिल्मको पटकथा पनि स्वयं शर्माले नै लेखेका हुन् ।
इन्डो–नेपाल प्रोडक्सनमा बनाइने उक्त फिल्मको हिन्दी भर्सनमा भने ‘मेरे पैसे कहाँ है’ शीर्षक तय गरिएको छ । ‘यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो,’ विवेकले भने ।
यसअघि पहिलो फिल्ममै अमिताभ बच्चन र जुही चावलासँग काम गरेका विवेकले यस फिल्ममा बलिउड र नेपाली कलाकार लिइने बताएका छन्, जसमा भारतीय कलाकारहरू सञ्जय मिश्रा, राजपाल यादव र विजय राज अनुबन्धित भइसकेको र बलिउडका ‘क’ श्रेणीका कलाकारको पनि विशेष भूमिका रहने छ । नेपाली कलाकार भने छिट्टै तोकिने निर्माता राणाले बताएका छन् । फिल्म हिन्दी र नेपाली भाषामा बन्नेछ भने भारत र नेपालकै विभिन्न स्थानमा बराबरी खिचिनेछ ।
रोजले विराज भट्ट र निशा अधिकारीलाई लिएर पछिल्लो पटक ‘जय परशुराम’ आफ्नै निर्देशनमा ल्याएका थिए । द्वन्द्व निर्देशकका रूपमा भने चन्द्र पन्त निश्चित भइसकेका छन् । फिल्म मध्य पुसबाट छायांकनमा जाने रोजले बताए । नेपाली र हिन्दीसहित फ्रेन्च, जर्मन, अंग्रेजी, तामिल लगायत ११ भाषामा डबिङ गरेर पनि फिल्म रिलिज गरिने निर्माण पक्षले योजना बनाएको छ ।
महेश भट्टको सहायक भएर करिअर सुरु गरेका विवेकले ‘डुप्लिकेट’, ‘अंगारे’, ‘फिर भी दिल है हिन्दुस्तानी’ जस्ता फिल्ममा एसोसिएट डाइरेक्टरको भूमिका निर्वाह गरेका थिए । ‘भूतनाथ’ को विवेकै स्क्रिप्ट हेरेपछि अमिताभ बच्चनले विवेकको फिल्म बुझाई वल्र्ड क्लासको रहेको भनी टिप्पणी गरेका थिए ।
रोजले भने निजी सम्बन्धका आधारमा विवेक आफूसँग नेपाली फिल्म खेल्न राजी भएको बताएका छन् । आफ्नै फिल्मजोन नामक प्रोडक्सन कम्पनीसमेत खोलेका विवेकले ७० बढी स्क्रिप्ट फिल्मका लागि तयारी हालतमा राखेको बताएका छन् । यतिबेला फिल्म ‘बुद्धं शरणं गच्छामि’ को निर्माणमा जुटिरहेका विवेकले ‘कल किस ने देखा’ पनि निर्देशन गरेका थिए । फिल्म घोषणाका लागि नेपाल आएका विवेक यति बेला पुन: भारत फर्केका छन् ।



