५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास ।
यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्याउन असम्भव छैन भन्ने देखाएको छ ।
भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन ।
यसरी बालियो पाइपबाट ग्यास
शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो ।
खानी तथा भूगर्भ विभागका कर्मचारी पाइपलाइनबाट आएको ग्यास चुल्होमा बालेर पत्रकारलाई देखाउँदै
उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ ।
पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ । त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ ।
त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ । अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको छ र ग्यास चुलोमा जडान गरिएको छ ।
मन्त्री जोशीले त्यही ग्यास बालेर सञ्चारकर्मीहरुलाई देखाए । बाहिर निस्कँदै गर्दा मन्त्री जोशीले भने, ‘आज हामी फेरि सफल भएका छौं । जमिनमुनिको ग्यास पाइपबाट तानेर बालियो ।’
यो कसरी सम्भव भयो ?जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । पछिल्लो समय भने ग्यास उत्खन्न परियोजनाको काम रोकिएको थियो ।
तर, तीन वर्ष अगाडिबाट ३५ लाख रुपैयाँको लगानीमा ड्रिलिङ सुरु भयो र एक वर्ष अगाडि काम सकियो । गत असोज ३ मा नयाँ संविधान जारी भएसँगै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएपछि काम अघि बढ्यो ।
पाइपबाट ग्याससँगै आएको पानीलाई छुट्टाउने मेशिन । जहाँबाट पानीलाई छुट्याएर ग्यासलाई मात्रै रिजर्भवायरसम्म पठाइन्छ ।
विभागका अनुसार यसअघि गरिएको परीक्षणमा भन्दा अहिले पानीमा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भएपनि अहिले भने ०.१५ प्रतिशत मात्र पाइएको छ । यद्यपि विभागले अहिले कुनै व्यवसायी योजना राखेर काम नगरेको मात्र परीक्षण गरेको जनाएको छ ।
अन्तिम चरणमा फिल्टर भएको मिथेन ग्यासलाई प्रेसरको सहायतामा पाइपबाट चुल्होसम्म पुर्याउने मेशिन
त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।
त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ सम्भावनाको खोजी त परै जाओस, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् ।
फोटो-भिडियो- कमल प्रसाईं/अनलाइनखबर
https://www.youtube.com/watch?v=ezuUzYCiHtQ&feature=youtu.be
अनलाइन खबर बाट सभार गरिएको ।










