मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस भन्दाअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो। मे १ अर्थात् आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुनेगरी आधारभूत तलब बढाएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले एक सूचना जारी गर्दै श्रमिकको तलव बढेसंगै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न म्यानपावरलाई आग्रह गरेको छ।

साथै, यसअघि प्रमाणीकरणको लागि दूतावासमा पेश भएर प्रमाणीकरण नभइसकेका मागपत्रमा मागपत्र र रोजगारी सम्झौतापत्रका सम्बन्धित पेजसमेत सोही अनुसार मिलान गरी दूतावासमा पेश गर्न आग्रह गरेको छ।

मलेसियामा ३ लाख ५० हजार बढी नेपाली कार्यरत छन्। यस्तै केही अवैधानिक रुपमा बसिरहेका नेपालीहरु पनि छन्। मलेसिया नेपालीको रोजगारीको प्रमुख श्रम गन्तव्य हो।