पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तरवार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो ।

यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका वर्तमान जनरललाई यस हमलाको जिम्मेवार ठहर गरेका छन् ।

यस विषयमा फ्रान्स २४ सँग कुराकानी गर्दै इमरान खानले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् ।

इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई मार्न चाहन्थे । ’

‘अरु सबै दल एक पक्षमा रहेपनि उनीहरुलाई स्थापनाको समर्थन छ । यति हुँदा हुनै पनि हामीले उपनिर्वाचनमा उत्कृष्ट सफलता हासिल गरेका छौँ । अहिले पाकिस्तानमा शासन गरिरहेका यी अपराधीहरूलाई जनताले मन पराउँदैनन् किनभने हाम्रो लोकप्रियता बढेको छ,’ उनले थपे ।

उनी भन्छन्, ‘यस कारणले गर्दा मलाई जनताबाट ठूलो सहयोग मिलिरहेको छ । यस्तो अवस्थामा मलाई बाहिर निकाल्ने उपाय भनेको मलाई हटाउनु नै हो भन्ने लाग्छ । यस्तो अवस्थामा खतराको स्थिति छ जस्तो लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय