
नेपालमा राम्रो भनिएका तथा व्यवसायिक रुपमा सफल भएका नेपाली फिल्मलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि केही फिल्मले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् ।
निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली फिल्म निर्मातालाई नयाँ फिल्म निर्माण गर्न आँट आउने बताए ।
‘स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएको छ’, निर्देशक भट्टराई भन्छन् – ‘मैले निर्देशन गरेका फिल्मले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नु पर्ने अवस्था छैन ।’
‘शत्रु गते’, ‘जात्रै जात्रा’ पश्चात अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष फिल्मले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यपार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी फिल्म हेरिए झैँ सिनेमा हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ ।
संयुक्तराज्य अमेरिकामा नेपाली फिल्म प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका फिल्मले राम्रै दर्शक पाइरहेको बताए ।
‘समय मिलाएर आउनु पर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी फिल्म झैँ नेपाली फिल्म पनि हलमा प्रदर्शन गरिरहेका छौं,’ उनी भन्छन्– ‘यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको फिल्म प्राथमिकतामा पर्ने गरेका छन् । अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदै छ ।’
वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता फिल्मसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गरेका थिए ।
नेपाली फिल्मका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ । अष्टे्रलियामा नेपाली फिल्म प्रदर्शन गरिरहेका रोशन भट्टराईले बजार बढेको बताए ।
‘कोरोना भाइरसको महामारीपश्चात् नेपाली चलचित्रको बजार अष्ट्रेलियामा बढेको पाएको छु तर यो विश्वास जितिसकेका चलचित्र र निर्माताको हकमा मात्र लागू हुन्छ । विशेषत यहाँ जात्रा सिरिज, छक्का पञ्जा सिरिज र कबड्डी सिरिजको माग धेरै हुन्छ’, वितरक भट्टराई भन्छन् ।
एक समय विदेशमा प्रदर्शन अधिकार बिक्री गरेवापत पाइने रकमकै सेरोफेरोमा फिल्म नबनेका होइनन् तर पछिल्लो समय यसमा नियन्त्रण हुन थालेको छ ।
अहिले बढिरहेको बजारलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउनु पर्ने निर्देशक दीपेन्द्र लामा बताउँछन् ।
‘विदेशमा रहेका नेपाली फिल्मप्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ फिल्मकर्मीलाई नै हुनेछ’, निर्देशक लामाको भनाइ छ ।