इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३ सय १० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर २१ मिनेटमा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा १० किलोमिटरको गहिराइमा ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पका कारण मृत्यु हुनेको संख्या ३ सय १० पुगेको छ भने २४ जना हराइरहेका सीजीटीएनले जनाएको छ। यसअघि बीएनपीबीका प्रमुख मेजर जनरल सुहार्यान्तोले पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको र मृत्यु पुष्टि भएकामध्ये एक तिहाइभन्दा बढी बालबालिका रहेको बताए। उनका अनुसार भूकम्पका कारण २ हजार ४३ जना घाइते भएका छन् भने ६१ हजार ८ सय जना विस्थापित भएका छन्। ४० जना अझै हराइरहेका छन्। सुहार्यान्तोका अनुसार ५६ हजार ३ सय २० घरमा क्षति पुगेको छ, जसमध्ये एक तिहाइभन्दा बढी घर नराम्ररी क्षतिग्रस्त भएका छन्। अन्य भवनमा ३१ विद्यालय, १ सय २४ धार्मिकस्थल र तीन स्वास्थ्य संस्थामा क्षति पुगेको छ।

अधिकारीका अनुसार एजेन्सीले विस्थापितका लागि सुविधासम्पन्न १४ वटा शरणार्थी आश्रयस्थल निर्माण गरेको छ। विश्वका भूकम्पीय रूपमा सबैभन्दा सक्रिय क्षेत्रहरूमध्ये एक सुमात्रा टापु प्रशान्त महासागरको एक छेउमा जापान र इन्डोनेसियादेखि अर्कोतर्फ क्यालिफोर्निया र दक्षिण अमेरिकासम्म फैलिएको छ।

इन्डोनेसियामा सन् २००४ मा उत्तरी इन्डोनेसियाको सुमात्रा टापुमा गएको ९.१ म्याग्निच्युडको भूकम्पका कारण १४ देशमा सुनामी आएको थियो जसमा हिन्द महासागरको तटीय क्षेत्रमा २ लाख २६ हजार मानिसको मृत्यु भएको थियो।