
नयाँ नेपाली फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेदेखि प्रदर्शन हुने भएको छ । निर्माण टिमले हालै फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् ।
फिल्मको एउटा पोस्टरमा बाकसमाथि उभिएका जीतु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ, साम्राज्ञीको अगाडी लेडिज ब्याग र बुके राखिएको छ ।
कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक फिल्मको अर्को पोस्टरमा जीतुले साईकल चलाई रहेका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरले जीतु र साम्राज्ञीको रोचक केमेस्ट्रीले फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । यो फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।
डा. कपिल रिजालको प्रस्तुति रहेको यो फिल्ममा रिजालकै कथा तथा निर्देशन छ भने यसको पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा.कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
यो फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको यो फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
विजय बस्यालले पोस्टर डिजाइन गरेको यो फिल्मको पोष्ट प्रोडक्सनको लागि अहिले निर्देशक रिजाल, डिओपी सुदीप बराल तथा अभिनेता जीतु नेपाल मुम्बईमा छन् ।