अन्तर्वार्ता

कहिले प्रसारण हुन्छ एपी वान टेलिभिजनमा दुई पटक रोकिएको राष्ट्रपतिको अन्तर्वार्ता?


  दमक   सवाल नेपाल   २०७९ मंसिर १५, बिहीबार ११:११

राष्ट्रपति विद्यादेवी भण्डारीले एपी वान टेलिभिजनका लागि दिएको अन्तर्वार्ताको प्रसारण दुई सातासम्म रोकिएको छ।

टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताको प्रसारण दुई पटक रोकिएको हो।

प्रस्तोता यात्रीले मंसिर २ गते दुई वटा प्रोमो फेसबुकमा सार्वजनिक गर्दै त्यही दिन राती ९ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी गराएका थिए।

प्रोमो सार्वजनिक भएलगत्तै मौन अवधिमा राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण वाञ्छनीय नहुने सुझाव प्राप्त भएपछि शुक्रबारका लागि तय भएको प्रसारण स्थगित गरिएको विषय प्रस्तोता यात्रीले फेसबुकमार्फत सार्वजनिक गरे।

‘हामीले प्रोमो सार्वजनिक गरेलगत्तै निर्वाचन आयोग एवं विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण वाञ्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रसारण गरिने जानकारी गराउदछौं,’ यात्रीले लेखेका थिए।

यात्रीले भनेबमोजिम उक्त अन्तर्वार्ता मंसिर ४ गते राती प्रसारण हुनुपर्ने थियो। तर हालसम्म पनि उक्त अन्तर्वार्ता प्रसारण भएको छैन। राष्ट्रपतिको अन्तर्वार्ता दुई पटक रोकिएर अहिलेसम्म प्रसारण नहुनुको कारणबारे सेतोपाटीले यात्रीसँग जिज्ञासा राखेको थियो

निर्वाचन आयोगको ध्यानाकर्षणपछि प्रसारण रोकिएको र निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको दिन अन्तर्वार्ता प्रसारण हुने जवाफ दिए।

‘निर्वाचन आयोगले ध्यानाकर्षण गराएपछि हामीले प्रसारण स्थगित गर्‍यौं। निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएका दिन अन्तर्वार्ता प्रसारण गर्छौं,’ उनले भने।

निर्वाचन आयोगले भने राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण स्थगन गर्नका निम्ति एपी वान टेलिभिजनलाई कुनै पनि ध्यानाकर्षण नगराएको जवाफ दिएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले सेतोपाटीसँग भने, ‘राष्ट्रपतिको अन्तर्वार्ता प्रसारणमा आयोगले ध्यानाकर्षण गराएको भए मलाई जानकारी हुने थियो। यो विषय मेरो जानकारीमा नै छैन।’

राष्ट्रपति कार्यालयले पनि अन्तर्वार्ता के कति कारणले रोकिएको हो भन्ने प्रष्ट जानकारी प्राप्त नभएको बताएको छ।

‘अन्तर्वार्ताको प्रोमो पनि सार्वजनिक भयो तर प्रसारण रोकियो। हामीलाई निर्वाचन आयोगको ध्यानाकर्षणका कारण भनिएको थियो। हामीले आयोगमा बुझ्दा त्यस्तो पाएनौं। के कति कारणले रोकिएको प्रष्ट जानकारी प्राप्त भएको छैन,’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सेतोपाटीसँग भने।

यात्रीले सार्वजनिक गरेको प्रोमोमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन सक्ने सम्भावनालाई नकार्न नसकिने खुलासा गरेकी थिइन् भने दासढुंगा प्रकरणबारे पनि चर्चा गरेकी थिइन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार