
लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।
निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा विमति जनाउँदै आएको नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।
मंसिर ४ गते के भएको नाटेश्वरीमा ?
देशभर जस्तै एकवटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा पनि मंसिर ४ गते मतदान हुँदै थियो । तर सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढेपछि बाजुरा दिनभरि तनावग्रस्त रहयो । स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिकामा हवाई फायर गर्नुपरेको स्थानीय प्रशासनले बताउँछ ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्र झनै तनावग्रस्त थियो । मतदान सकिने बेलामा मतदानस्थलमा फर्जी मत कसले खसायो ? भन्ने विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद चर्कियो । दुई पक्षीय झडप भयो । मतपेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको स्थानीय प्रशासनले बताउँछ । र, सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव अयडीको मृत्यु भयो । प्रहरीसहित केही घाइते भएका थिए ।
त्यसपछि जिल्लाको अवस्था झनै तनावग्रस्त बन्यो । सोही मतदान केन्द्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको चेतन अयडी नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि थिए ।
मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताबाट उनलाई घरमै गएर निर्घात कुटपिटपछि उनको मृत्यु भयो ।
को–को छन् प्रतिस्पर्धामा ?
बाजुरामा मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे र नेकपा एमालेका उम्मेदवार एवं सुदूरपश्चिम अध्यक्ष समेत रहेका कर्ण थापाबीच मुख्य चुनावी प्रतिश्पर्धा भइरहेको छ । त्यस्तै, राप्रपाको जंगकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि प्रतिस्पर्धामा छन् ।