राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय झापाले हरियो चिया पत्तिको गुणस्तरीय मापदण्ड सम्बन्धी तीन दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।झापाको हल्दिबारी, पृथ्वीनगर र बाहुनडाँगीमा आयोजित अन्तरक्रियाका सहभागीले हरियो चिया पत्तीको गुणस्तर वृद्धिको विकल्प नभएको बताए । उनीहरुले गुणस्तर नहुँदा भारतीय चियाले विश्व बजारमा विश्वास गुमाउँदै गएको अवस्थामा नेपाली चिया किसान त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि लगातार सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको बताए । उनले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि यो सिजनमा झापाका किसानलाई पर्याप्त हुने मलखादको व्यवस्था गर्ने काममा आफू स्वयम् जुटेको बताए ।

डा. भट्टराईले चिया बगानमा सिंचाइको पर्याप्त व्यवस्थाका लागि प्रदेश सरकारमार्फत अनुदानमा बोरिङको व्यवस्था गर्न लागेको जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले हरियो चियापत्तिको गुणस्तरमा ध्यान दिन नसके नेपाली चियाको भविष्य खुम्चिँदै जाने बताए । तर, गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने बताए । उनले गुणस्तर वृद्धि गर्नसके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने बताए ।

अन्तक्र्रियामा हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि किसानलाई चिया बगानमा गर्नुपर्ने न्यूनतम कामहरुका बारेमा जानकारी दिइएको थियो । त्यस्तै बगानमा गर्नुपर्ने सालेना काँटछाँट र रेखदेख लगायत विषयमा प्रयोगात्मक प्रशिक्षणसमेत दिइएको थियो ।
चिया खेती र हरियो चिया पत्तिको गुणस्तर वृद्धिबारे बोर्डका कृषि प्राविधिक अनन्त ढुंगाना र लिलादेवि शिवाकोटिले प्रशिक्षण दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन बोर्डका लेखा अधिकृत सुमन त्रिखत्रीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय