काठमाडौं । राम्री युवती देख्दा कुनै पनि युवाले मन पराउँनु सामान्य कुरा हो तर एउटै युवतीको पछाडी धेरै युवाहरु लागी परे भने के होला ? यस्तै समस्याको अल्झनमा परेकी छिन् प्रथा बस्नेत पनि । उनलाई तिमी मन पर्यो भन्दै पछ्याउँने युवाहरुको लर्को लागेको छ । यो लर्को सञ्जु अमात्यको स्वर रहेको गीत “मलाई उनी मन पर्यो” को भिडियोमा समेटिएको कथाको हो ।
गायक तथा संगीतकार सञ्जु अमात्यले हालसम्म नेपाली चलचित्र, आधुनिक तथा भोजपुरी चलचित्र गरी २ सयको हाराहारीमा स्वर दिई सकेका छन् भने दुई दर्जन भन्दा बढी गीतमा उनको संगीत सुन्न सकिन्छ । यसै गरी लगभग ५० वटा जति गीत उनका शब्दमा रेकर्ड भएका छन् । उनै शब्द, संगीत तथा स्वरका त्रिवेणी सञ्जु अमात्यको स्वर रहेको अर्को एउटा गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार प्रल्हादभक्त संग्रौलाको संगीतमा गायक र संगीतकार दुवै जनाको शब्द रहेको “ मलाई उनी मन पर्यो ” बोलको गीति भिडियो सार्वजनिक भएको हो ।
राजिव शाहको एरेञ्ज रहेको उक्त गीतको भिडियोमा युवराज केसरी र प्रथा बस्नेतको अभिनय रहेको छ भने अन्य कलाकारहरुको समूहलाई पनि भिडियोमा देख्न सकिन्छ । ह्यारी महर्जनको छायाँकनलाई गायक सञ्जु अमात्य स्वयमले निर्देशन गरेको उक्त भिडियोको सम्पादन रन्धिर श्रेष्ठले गरेका छन् ।
बबिता अमात्य निर्मात्री रहेको उक्त भिडियो सारथी संगीतले बजारमा ल्याएको हो । हाल य्ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको “ मलाई उनी मन पर्यो ” गीतको भिडियो चाँडै नै टेलिभिजन च्यानलहरुमा प्रसारण गरिने जानकारी गायक एवम निर्देशक समेत रहेका अमात्यले दिएका छन् ।
भिडियोकाे लागि तल हेर्नुहोस् :



