नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ।

बुधबार बयान नसकिएकाले उनकाे बयान आज पनि लिन लागिएकाे जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिए। उनका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।

प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। तर अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका सबै १४ जना अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।