नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो।

 नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको छ।

प्रहरीले बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ।

यसअघि पनि उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको प्रहरी स्रोतले बतायो। कुनै समयमा उक्त गाडीको नम्बर बा १ झ १५८१ पनि थियो।

गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो। अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार यो गाडीको नम्बर फरकफरक कार्यालयको भनेर फेरिएको पाइएको छ।

‘कहिले संस्थाको भनेको छ, कहिले मन्त्रालयको भनेर दुई-चार पटक नम्बर प्लेट फेरेको पायौं,’ स्रोतले भन्यो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।

अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीले बताएको छ।

गिरोह उक्त गाडी प्रयोग गरी चितवन पुगेको पाइएको प्रहरी स्रोतले बताएको छ। विदेश पठाउने भन्दै कतिपय मानिसहरूलाई चितवन बोलाएर गिरोहका सदस्यहरूले अन्तर्वार्ता लिएका थिए। सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन गिरोहका सदस्यहरू सोही गाडी चढेर चितवन पुगेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय