काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।
विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन ।
सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो ।
नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भएकोमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् ।
१० टोली सहभागी विश्वकप छनोटमा अमेरिका पुछार र आयरल्याण्ड आठौँ स्थानमा रहे ।
आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र आयरल्याण्डले खेल्दैछन् । खेल दिउँसो पौने १ बजे हुनेछन् ।
हिजो स्कटल्याण्डसँग पराजित भएर वेष्ट इन्डिज बाहिरिएसँगै शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको जिम्बावेले विश्वकप खेल्ने सम्भावना उच्च छ । तेस्रो स्थानको स्कटल्याण्ड्को पनि गणितीय सम्भावना कायमै छ ।
एकदिवसीय विश्वकपको इतिहासमा वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन नसकेको हो ।
वेष्ट इन्डिज दुई पटकको एकदिवसीय र टी–२० विश्व विजेता पनि हो ।