झापाको दमकमा निर्मित भ्युटावर कामै नसकी हस्तान्तरणको तयारी गरिएको छ । काम नै नसकी हस्तान्तरण गर्ने तयारी थालिएपछि दमक नगरपालिका भने अन्योलमा परेको छ ।

झन्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको भ्यु टावर हस्तान्तरणको प्रक्रिया थालिएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर भूपेन्द्र यादवले बताए । निर्माणको काम लगभग सकिसकेको इन्जिनियर यादवले बताए । हस्तान्तरणको मिति टुंगोमा नपुगे पनि चालु आर्थिक वर्षभित्रै हस्तान्तरण गरिसक्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

संघीय सरकारको एक अर्ब ४५ करोडमा भ्यु टावर बनाइएको हो । यो टावर दमक बजारबाट झन्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण गरिएको छ ।

हेर्दा राम्रो भए पनि अहिले नै सञ्चालनमा आउने सम्भावना भने नरहेको दमक नगरपालिकाकी उपमेयर रेजिना भट्टराई प्रसाईँले बताइन । ‘हेर्दा भवन राम्रो छ । सञ्चालन गर्दा घाटा नै त नहोला,’ उनले भनिन्, ‘व्यावसायिक भ्युमा बनेको छ । तर, बनी नसक्दै हस्तान्तरण गर्न खोज्नु चाहिँ गलत हो ।’

बजारबाट भ्युटावर बनेको स्थान टाढा रहेकाले सडक विस्तारको बाँकी काम र ल्यान्ड पुलिङको काम सकिएपछि मात्रै हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ । टावरकै धेरै काम बाँकी रहेको उनले बताइन् ।

‘मैले अस्ट्रेलिया, दुबई, मलेसियालगायत देशहरूमा बनेका टावरहरू हेरेको छु । त्यहाँबाट शहरहरू देखिन्छन् । हाम्रोबाट भने मावा र रतुवा खोला मात्रै देखिन्छ । तर, यो टावर आफैंमा बिजनेस भ्युमा बनेको हो । त्यहाँ जाने बाटो कालोपत्रे गरेर जग्गा अधिग्रहण गरेर बिजनेसको भ्यु बनाउनु पर्छ । अनि मात्रै सञ्चालन गर्न सकिन्छ,’ उनले भनिन् ।

काम नै नसकी हस्तान्तरण गर्दा स्थानीय तहले काम गर्न नसक्ने उनको भनाइ छ । काम नसकी हस्तान्तरण गरेर स्थानीय तहलाई बोझ बोकाउन खोजिएको उनले बताइन । ‘दमकमा नै प्रदेश स्तरीय सभाहल बन्यो,’ उनले भनिन्, ‘त्यो सभाहलको काम सक्न अझै १० करोडभन्दा बढी खर्च हुन्छ भनेर प्राविधिकले नै भनिरहेका छन् । तर, प्रदेश सरकारले हस्तान्तरण गर्न खोजिरहेको छ । यस्ता आयोजना पूरा गर्न हाम्रो क्षमताले भ्याउँदैन ।’ काम नै नसकी उद्घाटन गर्ने चलन अन्त्य गर्न पनि उनले अनुरोध गरेकी छिन् ।

टावर सञ्चालनको मोडालिटीबारे नगरपालिका पनि अन्योलमा छ । तर, सम्बद्ध अधिकारीहरूले भने मोडालिटी बनिरहेको बताएका छन् ।

यो टावर संघीय सरकारले बनाएको हो । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । पहिलादेखि नै चर्चामा रहेको भ्यु टावर सञ्चालनको बेला पनि पुनः चर्चामा आउने भएको छ । भ्यु टावरलाई केमा प्रयोग गर्ने भन्ने पनि टुङ्गो लागेको छैन । बजारभन्दा टाढा रहेकाले तत्काल व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुन कठिन हुने स्थानीय व्यापारीहरू बताउँछन् ।

नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यु टावर १ सय मिटर अग्लो रहेको छ । २०७६ साल असार २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यु टावरको शिलान्यास गरेका थिए ।

३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि ढिला मात्रै काम सकिएको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । कोरोनाको कारण निर्माणको समय लम्बिएको आयोजनाको भनाइ छ । चिनियाँ कम्पनी सीजीआईईसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए ।

दमकको यो भ्यु टावर निर्माण शुरू हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको सघन शहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ ।

…..लोकन्तरबाट….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय