कुनै जमाना थियो चिठ्ठीको । सामाजिक सञ्जालको विकास भइनसकेकाले चिठ्ठीको महत्व एकदमै रहेको हुन्थ्यो । एक ठाउँका सुचना तथा जानकारीहरु आदानप्रदान गर्ने तथा मनोभावनाहरु साटासाट गर्ने माध्यम थियो चिठ्ठी । साथीले साथीलाई, श्रीमानले श्रीमतीलाई र परिवारका अन्य सदस्य तथा विभिन्न व्यवसायिक कामका लागि चिठ्ठी लेख्ने गरिन्थ्यो ।
एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला ? सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि अरुलाई अर्थ नहोला । तर, ९८ वर्ष पहिले लेखिएको एउटा चिठी भने लाखौं मूल्यमा बिकेको छ ।
आजभन्दा ९८ वर्ष पहिले वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नी पत्नीलाई लेखेको चिठी २१ हजार ४९२ डलर अर्थात् झण्डै २२ लाख रुपैयाँमा बिकेको छ ।
आइन्स्टाइनले सन् १९१९ को डिसेम्बर ५ मा आफ्नी पत्नी र छोरालाई उक्त चिठी लेखेका थिए । कापीको पन्नाको दुबैतर्फ लेखिएको उक्त चिठीमा आइन्स्टाइनले एकातर्फ अल्बर्ट र अर्काेतर्फ पापा नामबाट हस्ताक्षर गरेका थिए । हस्तलिखित यो पत्रले आइन्स्टाइनको निजी जीवन र उनको वैज्ञानिक विरासतको विवरण दिन्छ ।

पत्रको सुरुमा आइन्स्टाइनले पत्नी मिलेवा मरिकलाई सम्बन्ध विच्छेद गर्ने व्यवस्था र छोरा हेन्स अल्बर्टको शिक्षाको बारेमा चर्चा गरेका छन् । उनले लेखेका छन् – मेरो भाग्यमा फिरन्ते जिन्दगी लेखेको छ कि जस्तो प्रतीत हुन्छ । मौजूदा अवस्थामा यो बुझ्न सक्छु कि तिमी निकै राम्रो हुन सक्दछौ । अल्बर्टको स्कुल नसारियोस् भन्ने म चाहन्छु । अर्काे पन्नामा उनले छोरा हेन्स र एडबर्डको पढाइका बारेमा अन्य कुरा लेखेका छन् ।
आइन्स्टाइनको यो चिठी अमेरिकाको पिआर अक्सन हाउसमा लिलामी भएको हो ।



