कात्तिक १३, २०७३ काठमाडौं : पशुपतिनाथ मन्दिरमा ‘जय शम्भो!’ भनेर पुकार्नु कुनै नयाँ कुरा होइन तर, शनिबार बिहान पशुपतिनाथमा ‘जय शम्भो’ सँगै अर्को पुकारा पनि सुनियो- ‘जय छक्का पन्जा’। यस्तो नारा लगाउँदै थिए फिल्म ‘छक्का पन्जा’ का निर्माता निर्देशकदेखि लिएर कलाकारसम्म। फिल्म रिलिज भएको ५१ दिन पुगेको उपलक्ष्यमा निर्देशक दीपाश्री निरौला, स्क्रिप्ट लेखक एवं कलाकार दीपकराज गिरी, कलाकार बसुन्धरा भुसाल, किरण केसी, वर्षा राउत, नम्रता श्रेष्ठ, सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान, वितरक गोपाल कायस्थ लगायत ‘जय शम्भो! जय छक्का पन्जा!’ भन्दै पशुपतिनाथ पुगेका थिए। पशुपति दर्शन अघिअघि निर्देशक दीपाश्री निरौला र पछिपछि अन्य कलाकार हुल बाँधेर मन्दिर प्रवेश गरे। दीपकराज गिरीले मन्दिर प्रवेश गरेपछि ठूलो स्वरमा ‘जय शम्भो!’ भने अनि पछिपछि रहेका किरण केसी (रातामकै) ले झन् ठूलो स्वरमा भने ‘जय शम्भो, जय छक्का पन्जा!’ उनले दीपकलाई जिस्क्याउदै भने, ‘यो होन्त भन्ने काइदा!’ पशुपतिनाथ मन्दिर परिसरमा रहेका प्रत्येक मन्दिरमा टाउको जोड्दै ‘जय शम्भो’ जारी रह्यो। टिभीमा देखेका कलाकार आफ्नै अगाडि एकढिक्का देखेर दर्शनार्थी कलाकारतिर हेर्दै थिए। गोजीमा रहेको क्यामेर तेर्स्याउँदै फोटो लिन खोजेका दर्शनार्थीलाई फोटो खिच्न रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। पशुपतिनाथको मूल मन्दिरका पुजारीले निर्देशक दीपाश्रीलाई रुद्राक्ष र दुबोको माला अनि चन्दन लगाइदिएका थिए। मन्दिरबाट दुबोको माला पहिरिएर बेहुली झैँ भएकी निर्देशक दीपाश्रीका साथै कलाकार मन्दिरको पूजा र दर्शन सकेर बाहिर निस्केपछि बाहिर उपस्थित दर्शनार्थीले घेरे। मोबाइलमा सेल्फी खिच्नेको भीडले कलाकारहरुलाई घेरेको थियो। ‘ऊ दीपक-दीपा… ऊ राता मकै !’ भन्दै स-साना बालबालिकादेखि वृद्धवृद्धासम्म कलाकारबारे कुरा गरिरेहका थिए। दर्शकको मायाले फिल्म हिट ! छक्का पन्जाले अहिलेसम्म ‘रेकर्ड नै रेकर्ड’ बनाएको छ। भदौ २४ गते रिलिज भएको फिल्ममा टेलिसिरियलमा काम गरेका कलाकारहरुको बाहुल्यता रहेको छ। यसलाई जगको रुपमा व्याख्या गरे दीपकराज गिरीले। ‘तितो सत्य’ का लेखक/निर्देशक दीपकले भने, ‘तितो सत्य हाम्रो जग थियो। त्यहीँबाट मैले लेखन र दीपाले निर्देशन सिकेकी हुन्।’ त्यस्तै दर्शकको माया र पशुपतिनाथको कृपाले फिल्म हिट भएको बताइन् निर्देशक दीपाश्रीले। उनले भनिन्, ‘दीपकले पशुपतिनाथकै छेउछाउ आएर कथा लेखेका  थिए त्यसैले पशुपतिनाथको आशिर्वाद र  दर्शकले ५१ दिनसम्म लगातार हेरिदिएकोले दर्शकको मायाले फिल्म हिट भयो।’ माला लगाएकी दीपाश्रीलाई दीपकले जिस्क्याइहाले, ‘आज फिल्म हिट भएकैले हो है यिनले माला लगाएकी, कुकुर तिहार भएर हैन!’ हास्यकलाकारले पशुपतिमा समेत हाँसोको माहौल बनाए।  नाचगान र ब्यान्ड बाजासहित हलहलमा पशुपतिनाथमा पूजा र दर्शन गरिसकेपछि अघिअघि ब्यान्डबाजामा ‘पूर्व पश्चिम रेल…’ र ‘देख न चम्पा सुन न चम्पा हम्रा त तम्रा बाहेक को छ र…’ गीतका धुनमा नाच्दै गौरीघाटतिर अघि बढ्यो। जहाँ नायिका प्रियंका कार्की पनि आइपुगिन् नाच्दै। गौरीघाटमा खडा थिए ३ वटा ट्रक। ‘रेकर्ड नै रेकर्डमय ५१ दिन’ लेखिएका फ्लेक्स र मालाले सिंगारिएका ट्रकमा चढेर उनीहरु भक्तपुरको बाराही फिल्म हलका लागि हिँडे। दर्शकहरु बाटोमा कलाकारका फोटा खिचिरहेका थिए। गाडीका झ्यालबाट टाउका बाहिर निकालेर कलाकारका फोटा खिचिरहेका थिए। बाराही हलमा मिसिए जितु नेपाल ‘मुन्द्रे’ र केदार घिमिरे ‘माग्ने बुढो’। उनीहरुलाई अरु कलाकारले उचालेर फूलमाला लगाइदिएर स्वागत गरेका थिए। त्यहाँ केदारले दीपाश्रीको निर्देशनकलाको प्रसंसा गरेका थिए। ‘उहाँले सबै कलाकारलाई मिलाएर लानुभयो अनि साना साना कुरामा पनि मिहिनेत गरेर निर्देशन गर्नुभयो जसको फल छक्का पन्जा हिट भयो।’ केदारको कुरामा जीतुले पनि सही थपे। यसरी छक्का पन्जाको ५१ दिन सम्म मल्टिप्लेक्स र सिंगल स्क्रिनमा हाउसफूल चलिरहेको फिल्म युनिटले जनाएको छ। फिल्मले अहिलेसम्मको नेपाली चलचित्रमा रेकर्ड व्यापार गरेको छ। यसको सफलतामा निर्माता निर्देशक र कलाकारले काठमाडौं उपत्यकाका प्रत्येक हलमा गएर मनाइरहेका छन्।  एम्बुलेन्स किनिदिने दीपकराज गिरीले छक्का पन्जा बाट कमाएको पैसाबाट काभ्रेका स्थानीयका लागि एम्बुलेन्स किनिदिने तयारीमा रहेको बताए। उनले फिल्म छायांकन गरिएका काभ्रेका ४ वटा भन्दा बढी गाविसका लागि हुनेगरि एम्बुलेन्स किनिदिने योजना रहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर