२९ भदौ, काठमाडौं । जापानको नागोयामा बस्ने नेपालीहरुले स्वास्थ्य उपचारमा समस्या भोगिरहेको एक परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
काठमाडौंको जोरपाटीस्थित अर्थोपेडिक हस्पिटलमा खुट्टाको उपचार गराइरहेका ५० वर्षीय भोलानाथ नेपालीको उपचारका लागि उनीहरुले १ लाख ४० हजार ४ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
नागोयामा रहेका करिब २३ जना नेपालीहरुले संकलन गरेको रकम बुधबार डा. किशोरचन्द्र खनालले बिरामीका बाबु ७८ वर्षीय पदमबहादुर नेपालीलाई हस्तान्तरण गरे । उनी छोराका उपचारका लागि ऋणको खोजीमा थिए ।
सिन्धुपाल्चोक चौताराका भोलानाथको नली खुट्टामा स्टिल हालिएको छ । तर, उनको परिवार त्यसबापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको भन्दै केही दिनअघि बिबिसीमार्फत खबर सार्वजनिक भएको थियो ।
उपचारका लागि जापानबाट आएको सहयोग रकम बुझ्नासाथ भोलानाथ र पदमबाहदुरले हर्षको आशु झार्दै सहयोगीलाई धन्यवाद दिए ।
‘यत्रो रकम कसरी जुटाउने भनेर भगवान पुकारेको थिएँ’ वृद्ध बाबु पदमबादुरले खुसी हुँदै भने,’मेरो पुकार सुनेर भगवानकै रुपमा आएर पैसा दिनुभयो । अब मेरो घर खेत ऋणमा जाँदैन ।’
रकम हस्तान्तरण कार्यक्रममा हस्पिटल मुख्य प्रशासक श्याम रुपाखेतिले भोलानाथको खुट्टामा अपरेशन गरेर स्टिल हालिसकेको बताउँदै उपचारमा १ लाख ५० हजार रुपैयाँ बढी लाग्ने अवस्था रहेको बताए ।
‘अब उहाँहरुको जुटेको सहयोग रकम भन्दा बढी खर्च हुने अवस्था आयो भने हामी नै मिनाहा गरिदिनेछौं’, मुख्य प्रशासक रुपाखेतिले भने,’यदि यो रकम बच्यो भने उहाँहरुलाई फिर्ता गर्ने प्रतिवद्धता पनि जनाउँछौ ।’
रकम हस्तान्तरण पछि डा. खनालले चिया कफीमा हुने सानोतिनो खर्च कटाएपनि दुःख पीडामा रहेकालाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण नागोयामा रहेका नेपालीले दिएको बताए ।
दुःखी गरिबलाई सहायाता गर्ने काममा सबैले सहभागिता जनाउनुुपर्नेमा उनले जोड दिए ।
जापानको नागोयाबासी सहयोगीहरूको नामावली-
१. रोबिन्द प्रसाद श्रेष्ठ ‘गोबिन्द’
२. यमबहादुर खत्री
३. दिपक घिमिरे
४. पारसमणि पोखरेल
५. शुशिल गिरी
६. झम्पलाल गैरे
७. धनबहादुर खत्री
८. चिरन्जिबी सिग्देल
९. बाबुराम खरेल
१०. कृष्ण खरेल
११. दिपक के.सी.
१२. बिष्णुप्रसाद घिमिरे
१३. डिलाराम खरेल
१४. राम प्रसाद खरेल
१५. अर्जुन के.सी.
१६. बिमल अधिकारी
१७. सरोज कंडेल
१८. प्रबिण अधिकारी
१९. शेरबहादुर के.सी.
२०. केशर कुमार गिरी
२१. कृष्ण रेग्मी
२२. नारायण कंडेल
२३. डा. किशोरचन्द्र खनाल










