नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डेले इतिहास बनाएकी छिन्। नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको यस गायक रियालिटी सोमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी हुन्। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन्।
बुटवलस्थित राममणि क्याम्पसमा बीबीएस अध्ययनरत २१ वर्षीया सुजाताले दर्शकको माया र आफ्नो मेहनतले यहाँसम्मको यात्रा तय गरेको बताइन्। परिवारको साथ र सहयोग आफ्नो लागि सदैव प्रेरणा र उत्साहको विषय बनेको उनको भनाइ छ। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाअन्तर्गत बिहीबारको प्रस्तुतिमा सुजातालाई हौसला दिन उनकी आमासमेत सोमा उपस्थित भएकी थिइन्। नेपाल आइडलबाट सिकेका र यस सोका कारण पाएको फ्यानहरू आाफ्नो लागि अमूल्य रहेको सुजाताले बताइन्।
अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने उनले बुटवल हुदा बागेश्वरी संगीतालयमा शास्त्रीय संगीत सिकेकी थिइन्। पहिलोपटक यस प्रकारको प्रतियोगितामा सहभागी भएकी उनी नेपाल आइडल आफ्नो लागि अविस्मरणीय हुनुका साथै धेरै कुरा सिक्ने मौका पाएको बताउँछिन्।
नेपाल आइडलको उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास, निशान भट्टराई र सुरज थापाको स्वर उनलाई मन पर्छ। यी तीन प्रतियोगीमध्ये सुरज थापाले उत्कृष्ट ६ सम्मको यात्रा तय गरी बाहिरिसकेका छन्। प्रतियोगितामा प्रताप र निशानका साथै बुद्ध लामा र सागर आलेमगर उत्कृष्ट चारमा परेका छन्।
सुजाताले नेपाल आइडल छोडदाको भिडियो









