युरोपेली आयोगका अध्यक्ष जाँ क्लोद युङ्करले ब्रिटेनले युरोपेली संघ छाडने पक्षमा मतदान गरेतापनि युरोपेली संघको भविष्यमाथि कुनै खतरा नभएको जनाएका छन्।
आफ्नो वार्षिक संबोधनमा युङ्करले बाँकी २७ सदस्य मुलुकहरुलाई बढ्दो राष्ट्रवादी भावनासंग जुध्न पनि आह्वान गरे।
युरोपेली संसदका सदस्यहरुलाई संबोधन गर्दै युङ्करले युरोपेली संघको सीमा सुरक्षालाई सुदृढ गर्ने तथा सदस्य राष्ट्रहरुबीच सुरक्षा सहयोग अरु बढाउने घोषणा पनि गरेका थिए।
खतरा
ब्रिटेनमा जनमतसंग्रह भएयता युरोपेली संघको स्थितिबारे आफ्नो पहिलो वार्षिक संबोधनमा युङ्करले युरोपेली संघको भविष्यमाथि कुनै खतरा नरहेको बताए।
उनले भने, “स्वतन्त्रता, प्रजातन्त्र र कानुनको शासन हाम्रो युरोपेली जीवनका अभिन्न अङ्ग हन्। ब्रिटेनका सडकहरुमा पोलिश कामदारहरुलाई हतोत्साही गरिने, कुटपिट गरिने यहाँसम्म कि हत्या पनि गरिने काम हामी युरोपेलीहरुले कहिल्यै स्वीकार गर्न सक्दैनौं।“
ब्रिटेनले युरोपेली संघ छाडने बारेको वार्ता जतिसक्दो चाँडो शुरु गर्नुपर्ने बताउँदै युङ्करले ब्रिटेनले निर्वाध मानव आवतजावतमा रोक लगाएर युरोपेली संघको बजारमा मात्र पहुँच पाउन नसक्ने चेतावनी पनि दिए।
गत मे महिनामा ब्रिटेनमा भएको जनमतसंग्रहमा सानो अन्तरले ब्रिटेनले युरोपेली संघ छाडने पक्षले जितेको थियो।
त्यसपछि ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले आफ्नो पदबाट राजीनामा दिएभने नयाँ प्रधानमन्त्री टरीजा मेले इयु छाडने बारे औपचारिक वार्ता कहिलेदेखि शुरु गरिन्छन् भन्ने बारे केही बताएकी छैनन्।
चर्चा
बीबीसीकी युरोप सम्पादक काट्या एडलर भन्छिन्, युरोपेली संघ छाडने ब्रिटेनको निर्णय संघकालागि निश्चय नै अहिलेको सबैभन्दा ठूलो संकट हो। तर युङ्करले सो विषयमा खासै चर्चा गर्न रुचाएनन्।
उनले आफ्ना सदस्यहरुलाई भविष्यप्रति सकारात्मक रहन सन्देश दिन चाहेको देखिन्थ्यो।
युरोपेली आयोग युरोपेली संघको कार्यकारी निकाय हो।
फ्रान्सको स्ट्रयाजवर्ग शहरमा युरोपेली संसदका सदस्यहरुलाई संबोधन गर्दै युङ्करले युरोपेली संघको सीमा सुरक्षालाई सुदृढ गर्ने, सदस्य राष्ट्रहरुबीच सुरक्षा सहयोग अरु बढाउने घोषणा पनि गरे। उनले संघको छुट्टै सेना गठन गर्न र विदेश मन्त्रीको नया पद सिर्जना गर्न पनि आह्वान पनि गरे।
“एउटा साझा सैन्य बल गठन गर्नकालागि युरोपेली संघको एउटा सैन्य मुख्यालय हुनुपर्छ,” उनले भने।



