छिमेकी देश भारतको ओडिसा राज्यको भद्रक शहरमा एक व्यक्तिले हालैमा आफ्नो एक बर्षको छोरालाई २५ हजार रुपैया(भारु) मा बेचेका छन् । उक्त बच्चालाई एक निःसन्तान दम्पतीले किनेका हुन् । छोरालाई बेचेको पैसाबाट ती व्यक्तिले मोबाइल फोन, केही गहना र कपडा किनेर बाँकी रहेको रकमबाट रक्सीमा खर्च गरेका छन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले पान्डिया मुखी नाम गरेका ती व्यक्ति र उनका छिमेकी बलराम मुखीलाई गिरफ्तार गरेको छ । प्रहरीले यस मामलामा एक आंगनवाडी कर्मीलाई पनि प्रक्राउ गर्ने तयारी गरिरहेको छ । जसलाई बच्चाको विक्रीमा मध्यस्थता गरेको आरोप छ ।
जिल्ला चाइल्ड लाइनले उक्त बच्चालाई उनकी आमासम्म सुरक्षित साथ पुर्याइदिएको छ । भद्रकका एस.पी अनुप साहूले बीबीसीलाई भने, मंगलबार पान्डिया र बलरामलाई पक्राउ गरेर उनीहरुलाई अदालतमा पेश गरिएको छ । उनीहरुको जमानतको दरखास्तलाई अदालतले रद्द गरिदिएको छ । त्यसपछि उनीहरुलाई फेरी जेल चलान गरिएको छ ।
साहूले भने, जिल्ला जुवेनाइल जस्टिस बोर्डको आदेश अनुसार आमा र बच्चा दुवैलाई हाल आशियाना स्वाधार गृहमा राखिएको छ । बोर्डले नै उनीहरुको बारेमा अन्तिम फैसला लिने भएको छ ।
भद्रक टाउन चौकीका इन्चार्ज मनोज राउतका अनुसार दुवै अभियुक्तहरुका विरुद्ध आईपीसीको धारा ३७०(मानव वेचविखन), १२०बी (अपराधिक षडयन्त्र) र जुवेनाइल जस्टिस एक्सका कयौँ धाराका आधारमा मुद्दा दर्ता गरिएको छ ।
सोधपुछका क्रममा पान्डिया र बलरामले बताए अनुसार केही बर्ष पहिले एक दुर्घटनामा आफ्नो एक मात्र सन्तान गुमाएका सोमनाथ सेठीले बच्चा किन्नका लागि मध्यस्तकर्तालाई ४५ हजार रुपैया दिएका थिए । जसमध्ये उनले २५ हजार रुपैया मात्र पान्डिया र बलरामलाई दिएर बाँकी रकम आफैले राखेका हुन् ।
बच्चाका बाबु पान्डियाले प्रहरी सोधपुछका क्रममा आफूले बच्चालाई पैसाका लागि नभई उसको उज्वल भविष्यका लागि यसो गरेको बताए । उता बच्चाकी आमा बर्षले भनिन्, घटनाका दिनमा मेरो पति र छिमेकी बलराम घरमा आए र बच्चालाई नुहाउन भने । नुहाइदिसकेपछि उनीहरु बच्चालाई लिएर कतै गए तर खाली हात फर्किए । त्यसपछि जब पनि म बच्चाको बारेमा सोध्थे जहिल्यै पनि उनी बच्चा सुरक्षित ठाउँमा छ भनेर टार्ने गर्थे ।
बर्षाले भनिन्, जब उनी मोबाइल फोन र मेरा लागि पाउजु लिएर आए तब मैले यो पैसा कसरी आयो भनेर सोध्दा बलरामले दिएको भन्ने गर्थे । तर एक दिन एक छिमेकीले उनीहरु दुईले मिलेर तिम्रो बच्चा बेचे भनेपछि मात्र मलाई यो घटनाका बारेमा थाहा भयो । उनले आफूले जसरी पनि आफ्नो बच्चालाई पाल्न सक्छु भन्दै आफ्ना ती पति र बलरामलाई कडा भन्दा कडा सजाय होस् भन्ने माग गरिरहेकी छिन् ।
एजेन्सी ।



