
काठमाडौं २४ असोज– प्रधामनन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारीमा रहेको राप्रपाको सत्तायात्रा लम्बिएको छ । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने र सरकारमा समेत सहभागी हुने गरी दुई दलबीच छलफल भएको थियो । लोकान्तर मा खबर रहेको छ ।
सोमवार केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेर राप्रपाले देउवा सरकारलाई समर्थन दिने निर्णय गरेको थियो । यसअघि पार्टी विभाजनमा सत्तारुढ दलको समेत संलग्नता रहेको आरोप लगाउँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अध्यक्ष कमल थापा निकट राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारमा सहभागिताको बिषयमा टुंगो लागिनसकेको बताए । ‘गठबन्धनमा सहभागी भइ सरकारलाई समर्थन गरेपछि राप्रपा सरकारमा सहभागी होस् भन्ने प्रधामनन्त्रीज्युको चाहाना हो,’ बर्तौलाले मंगलवार लोकान्तरसंग भने, ‘यसबिषयमा पार्टीभित्र छलफल हुँदैछ, अन्य कतिपय बिषय मिलाउन बाँकी छ ।’
एमालेसँग वामपन्थी तालमेल गरेको माओवादी केन्द्रका मन्त्रीलाई हटाएर राप्रपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री देउवाको तयारी थियो ।
देउवाको त्यस्तो तयारीप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ । एमाले र माओवादीका नेताहरुले यस बिषयमा मंगलवार दिउँसो कानून व्यबसायीहरुसँग परामर्श गरेका थिए । दुई दलका नेतालाई कानूनविद्हरुले निर्वाचन आचार संहिता लागू भइसकेको अबस्थामा अहिले मन्त्री फेरबदल गर्न नमिल्ने राय दिएका थिए ।
सीट संख्यामा कुरा नमिल्दा ढिलाइ
कांग्रेससँग लोकतान्त्रिक गठबन्धन निर्माण गर्न सहमती जनाएको राप्रपासंग प्रतिनिधिसभा चुनावका लागि सीट संख्याको बिषयमा टुंगो लाग्न बाँकी छ । ‘चुनावमा सीट संख्या, निर्वाचन क्षेत्र लगायत कैयौं बिषय मिल्न बाँकी छ, ती बिषय नमिल्दासम्म सरकारमा सहभगिता गौण बन्यो,’ राप्रपाका एक नेताले लोकान्तरसंग भने ।
राप्रपाले कांग्रेसँग प्रत्यक्षतर्फ १५ सीट मागेको छ । राजपा र लोकतान्त्रिक फोरमलाई समेत सीट बाँढ्नुपर्ने भएकाले कांग्रेसले राप्रपाले दावी गरेजति सीट दिन नसकिने बताएको छ । सीट संख्याको बिषयमा सहमती जुट्न नसक्दा राप्रपाको सत्तारोहणमा ढिलाइ भएको स्रोतको दावी छ ।
राप्रपा अध्यक्ष थापालाई उपप्रधान सहित गृहमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री राजी भएको राप्रपाका नेताहरुले सोमवार दावी गरेका थिए ।
गच्छदारको एकीकरणमा किन ढिलाइ ?
लोकतान्त्रिक गठबन्धनमा सहभागि हुने निर्णय गरेको लोकतान्त्रिक फोरम नेपाली कांग्रेससंग एकीकरण हुने तयारी पनि सीट संख्याकै कारण लम्बिएको छ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सोमवार कांग्रेसमा विलय हुने चर्चा थियो ।
लोकतान्त्रिक फोरमको संसदीय दलका सचेतक योगेन्द्र चौधरी भने कांग्रेससंग पार्टी एकीकरण नभइ चुनावमा तालमेल गरेर अगाडी बढ्ने बिषयमा मात्र सहमती भएको दावी गर्छन् । राप्रपा, राजपा लगायत दलले धेरै सीट दावी गरेका कारण कांग्रेस अप्ठेरोमा परेको छ ।



