मंसिर ९, २०७३- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार अष्ट्रेलियाका विदेशमन्त्री जुलि बिसपसँग औपचारिक भेटघाट गरेका छन् । उनले आजै अन्तर्राष्ट्रिय व्यापार तथा प्यासिफिक मन्त्री कोन्सेटा फेरिभान्ती वेल्स लगायतका अन्य भूतपूर्व मन्त्री तथा नेताहरुसँग समेत भेटवार्ता गरे ।

प्रवासी नेपाली संघ एनआरएनले सिड्नीमा आयोजना गरेको नेपाल महोत्सवमा सहभागी हुन आइपुगेका मन्त्री महतले अष्ट्रेलियाली विदेशमन्त्री जुली विसपसँग विदेश मन्त्रालयमा भएको भेटमा नेपालीहरुलाई भिषा प्रक्रिया नेपालबाटै मिलाइदिन आग्रह गरेका थिए ।

अष्ट्रेलियाको दूतावास नेपालमा भएपनि भिषा प्रक्रियाहरु सबै भारतबाट गर्नुपर्ने भएकाले समस्या आइरहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले भिषा प्रक्रियालाई सहज बनाउन नेपालबाटै उक्त प्रक्रिया सुरु गर्न आग्रह गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका साथै उनले नेपालमा लगानी अभिवृद्धि गर्न र अष्ट्रेलिया सरकारले पुर्‍याइरहेको सहयोग वृद्धि गर्न समेत आग्रह गरेका थिए । मन्त्री विसपले नेपाल आफुहरुको हितैषी मित्र रहेको र आफूहरुले गर्नसक्ने सबै सहयोग निरन्तर जारी राख्ने बताएकी थिइन् । उनले नेपालको वर्तमान राजनीतिको बारेमा चासो राख्नुका साथै मन्त्री महतले उठाएका विषयहरुलाई सकारात्मक रुपमा लिएको बताएकी थिइन् । भेटघाटको क्रममा मन्त्री महतले विदेशमन्त्री विसपलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।

यसैगरी आजै क्यानबेरामा रहेको संसद भवनमा मन्त्री महतले विपक्षी दल लेबरका अध्यक्ष मार्क बट्लरसँग समेत औपचारिक भेट गरेका थिए । उनले संसद भवनमै पूर्व विदेश मन्त्री पेनी वङ्ग, पूर्व अध्यागमन मन्त्री क्रिस बाओन लगायतका विभिन्न नेताहरुसँग समेत भेटवार्ता गरेका थिए । अहिलेसम्म राजदूत नियुक्ति नभइसकेकाले उनको भ्रमणको संयोजन कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले गरेका थिए । भेटघाटका क्रममा दुई देशको हकहित लगानी अभिवृद्धि लगायतका विभिन्न विषयमा छलफल भएको कार्यबाहक राजदूत पाण्डेले जानकारी दिए ।

कान्तिपुर बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय