
मंसीर ९ / झापाको दमकमा रहेको मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले दमक–१४ स्थित सरस्वती माविका दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले बिहीबार विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा जम्पर र ट्राउजर एक/एक थान वितरण गरेको हो ।
सांसद महिन्द्रा कुमारी सुब्बाको अध्यक्षता तथा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जाडो मौसममा दृष्टिविहीन विद्यार्थीले लगाउने लुगा अभाव भएको जानकारी पाएपछि न्यानो कपडा सहयोग गरेको प्रतिष्ठानकी अध्यक्ष एवं सासद सुब्बाले जानकारी दिइन । कपडा वितरण कार्यक्रममा मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानको बारेमा नेपाली कांगे्रस महासमिति सदस्य शेरबहादुर भट्टराइले प्रष्ट पारेका थिए ।
प्रतिष्ठानकी सदस्य गोमा बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, नेकपा एमालेका ७ नम्बर क्षेत्रीय इन्चार्ज होमबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतले प्रजातन्त्र सेनानी मुगाधन राईका योगदान र प्रतिष्ठानले गर्दै आएका सामाजिक कार्यहरुका बारेमा बोलेका थिए साथै नेपाली कांग्रेस दमक नगर सदस्य दिपेश दाहाल को पनि उपस्थीती रहेको थियो ।
विद्यार्थीहरुलाई कांग्रेस क्षेत्रीय सभापति डुण्डीराज भण्डारी, महिला संघ क्षेत्रीय अध्यक्ष रेगिना प्रसाई लगायतले कपडा वितरण गरेका थिए ।
प्रतिष्ठानले दमक र आसपासका क्षेत्रमा भवन निर्माण गरी सहयोग, दौड प्रतियोगिता, एम्बुलेन्स सेवा लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।
सोही अवसरमा सांसद सुब्बाले प्रतिष्ठानले दृष्टिविहीन विद्यार्थीका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको प्रतिष्ठानका संस्थापक सदस्य रोहित राईले जानकारी दिए ।
सांसद सुब्बाले दमक–१९ स्थित ईन्द्रेणी ताल परिसरमा प्रजातान्त्रिक सेनानी एवं उहाँका बुबा स्वर्गिय मुगाधन राई र स्वर्गिय आमा कृष्णकुमारी राईको स्मृतिमा बाटिकासहित चाडै शालिक निर्माण गर्ने घोषणा पनि गरे ।



